निभिक्स फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, प्रत्याभूति व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । निभिक्स फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने १३ लाख ७५ हजार कित्ता सेयरको प्रत्याभूति व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको हो । 

दुबै कम्पनीबीच बुधबार प्रत्याभूति व्यवस्थापन कार्य गर्न सम्झौता भएको हो । सम्झौतापत्रमा निभिक्स फर्मास्यूटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रममा निभिक्सका अध्यक्ष कालिदास पौडेल, सञ्चालक फार्मासिस्ट सुजनचन्द्र सिग्देल र चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेलको पनि उपस्थिति रहेको थियो ।

विसं २०७४ सालमा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्स २०८१ पुस २ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको अनुमति प्राप्त गरिसकेको छ ।

कम्पनीले हाल मुटु, मधुमेह, श्वास प्रश्वास, कलेजो र पेटसम्बन्धी ५६ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ । साथै नयाँ औषधीको अनुसन्धान र उत्पादन विस्तारमा समेत कम्पनी सक्रिय रहेको जनाएको छ ।

Share News