सेयर किन्न बैंक खातामा पैसा अनिवार्य हुनुपर्ने

काठमाडौं । सेयर खरिद गर्न चाहने व्यक्तिको बैंक खातामा रकम अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको ‘नीति तथा कार्यक्रम’ मा यस्तो व्यवस्था अघि बढाउने घोषणा गरेको हो ।

बोर्डको नीतिमा उल्लेख गरिएको छ, ‘’ दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ ।’ 

त्यस्तै, आईपीओ (प्राथमिक निष्काशन) मा आवेदन दिने क्रममा बैंक खाताको रकम रोक्का हुने व्यवस्था पनि अघि सारिएको छ । यसका लागि आस्वा सदस्य बैंकरवित्तीय संस्थाले सिडिएस मार्फत ‘एपीआई’ प्रणाली प्रयोग गरी आवेदन भेरिफिकेसनको साथै रकम रोक्का गर्ने प्रणाली लागू गरिनेछ ।

बोर्डका अनुसार, धितोपत्र बजारको प्रणालीगत जोखिम कम गर्न, लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न र बजारमा जनविश्वास बढाउन यी सुधारहरू आवश्यक छन् ।

साथै, बोर्डले इक्विटी डेरिभेटिभ बजारको पूर्वाधार निर्माण, मर्चेण्ट बैंकर, दलाल व्यवसायी, सामूहिक लगानी कोष लगायतका संस्थाहरूले पेश गर्नुपर्ने विवरणहरूको ढाँचा लागू गर्ने, जोखिममा आधारित सुपरीवेक्षण प्रणाली ल्याउने, र सूचीकृत कम्पनी वर्गीकरणलाई सुधार गर्ने नीति पनि सार्वजनिक गरेको छ ।

त्यस्तै, आईपीओबाट उठाइएका रकम वास्तवमै तोकिएको उद्देश्यअनुसार प्रयोग भएको छ कि छैन भन्ने अनुगमन सुरु गर्ने निर्णय पनि बोर्डले गरेको छ । दलाल व्यवसायीले लगानीकर्ताको आदेश अनुसार सेवा दिन आवश्यक प्राविधिक पूर्वाधारहरू प्रभावकारी छन् वा छैनन् भन्ने मूल्यांकनको अनुगमन व्यवस्था पनि गरिनेछ ।

Share News