‘टेक अफ’को बेला स्पिड कायम नगर्दा सौर्य एयर दुर्घटना, प्रमाण मेटाउने काम भएको निश्कर्ष

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । सो आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष प्रतिवेदन पेस गरेको हो । 

आयोगले यो दुर्घटनाको सबैभन्दा सम्भावित कारण टेकअफमा स्पिड कायम नगर्दा भएको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘उडानको सुरुवातमै टेक अफ विमानलाई आवश्यकता भन्दा ढिलो गति (कम स्पिड) मा अत्यधिक तीव्र गतिमा अगाडि तान्दा( पिच गर्दा) भएको गहिरो स्टल हो । यसले गर्दा विमानको प्वाँखमा पर्याप्त उथान (लिफ्ट  बन्न सकेन र विमान खस्ने अवस्थामा पुग्यो ।’

प्रतिवेदनले घटनाको दिन दुर्घटनास्थलबाट झोलाहरू हटाएर प्रमाण मेटाएको दाबी गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘ घटनाको दिन दुर्घटनास्थलबाट झोलाहरू हटाई एयरलाइन्सको कार्यालय पु¥याइनु प्रमाण मिटाउने कार्य मानिन्छ, यसले विमानस्थल प्रशासनको लापरवाही देखाउँछ ।’आयोगले प्रतिवेदनमा विभिन्न २९ बुँदामा दुर्घटनाको ‘फाइन्डिङ’ उल्लेख गरेको छ । 

आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र र वरपरका संवेदनशील क्षेत्रहरूलाई न त वर्गीकृत गरिएको थियो न त आपतकालीन अभ्यासमा समावेश गरिएको भन्दै दुर्घटनास्थल नजिकको आपतकालीन गेट पनि अबरुद्ध रहेको उल्लेख गरेको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सेवा म्यानुअल अनुसार आवश्यक उपकरण र जनशक्तिको टाक्स रिसोर्स एनालाइशिस नगरिएको पनि प्रतिवेदनमा उल्लेख छ । जसले उद्धार कार्य प्रभावित बनेको प्रतिवदेनमा उल्लेख छ । 

गैर–निर्धारित उडानहरूको अनुमति र सञ्चालनका लागि पर्याप्त एसओपी र प्रावधानहरू नभएको, रेगुलेटेड टेक अफ वेटको अनुमोदन वा स्वीकृतिको लागि कुनै विशिष्ट चेकलिस्ट विकास नगरिउको विषय पनि प्रतिवेदनमा छ । 

नागरिक उडड्यन प्राधिकरणद्वारा नियमित र्याम्प निरीक्षणहरू प्रभावकारी रूपमा नगरिएको यदि नियमित गरिएको भए झोला वा कार्गो लोडिङमा भएका त्रुटिहरू पहिले नै पहिचान गर्न सकिने विषय पनि प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, उडानको समयमा मौसम राम्रो रहेको, ८ किलोमिटर दृश्यता रहेको र हावा पनि शान्त रहेको उल्लेख छ । अपरेटरले सञ्चालन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलको प्रावधानहरू पालना गर्न नसकेको पनि दाबी गरिएको छ । 

प्रतिवेदनमा भनिएको छ, ‘सामग्रीहरू न त गोदामबाट बाहिर निकाल्दा न त विमानमा राख्दा तौलिएको थियो, मर्मतसम्बन्धी उपकरणहरू पनि यात्रु क्याबिनमै राखिएको थियो, सामानहरूलाई कुनै पट्टी, बाँध्ने डोरी वा जालद्वारा सुरक्षित गरिएको थिएन, लोडिङको निगरानी पर्याप्त र जिम्मेवारपूर्वक गरिएको थिएन,  भारको वितरणको आधारमा केन्द्रगुरुत्वको स्थानगणना गरिएको थिएन, विमानमा एयरलाइन्ससँग सम्बन्ध नभएका व्यक्ति र आवश्यक नभएका क्रू सदस्यहरू पनि सवार थिए ।’
 

Share News