क्वालिटी आयलको कारोबार ५४.३१ प्रतिशत घट्यो, साढे ६ अर्बको व्यापार २ अर्बमा झर्याे

काठमाडौं । क्वालिटी आयल रिफाइनरी प्रालिको आम्दानीमा भारि गिरावट आएको छ । कम्पनीले गत वर्ष (सन् २०२४) मा २ अर्ब ३३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ५४.३१ प्रतिशत अर्थात् २ अर्ब ७७ करोड ५० लाख रुपैयाँ घटेको हो । 

अघिल्लो वर्ष (सन् २०२३)मा कम्पनीले ५ अर्ब १० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कच्चा पदार्थको मूल्य अस्थिरता र विदेशी मुद्रामा उतारचढाव हुँदा आम्दानीमा असर परेको कम्पनीले जनाएको छ ।

कम्पनीको आम्दानी निरन्तर घटिरहेको तथ्याङ्कले देखाएको छ । सन् २०२२ मा कम्पनीले ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले सन् २०२१ मा २ अर्ब ८० करोड ९० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

सन् २००४ मार्चमा स्थापना भएको कम्पनीमा कब्राजी समूहको लगानी रहेको छ । कटहरी इटहरीमा प्लान्ट रहेको यस कम्पनीले अर्जेन्टिना, ब्राजिल, मलेसिया, इन्डोनेसिया लगायत विभिन्न देशहरूबाट लेटर अफ क्रेडिट मार्फत कच्चा पदार्थ आयात गर्दै आएको छ । 

साथै, विदेशबाट कच्चा पदार्थ आयात गरी वनस्पती घ्यू, भटमासको तेल, सन्फ्लावर तेल, पामोलिन, पाल्म, तोरीको दाना लगायत विभिन्न प्रकारका तेलको प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ । 

दैनिक ३२० मेट्रिक टन उत्पादन क्षमता रहेतापनि कम्पनीको आम्दानीमा भने प्रत्येक वर्ष घटिरहेको देखिन्छ । तेल तथा वनस्पति घिउ उत्पादक कम्पनीहरुको संख्या बढ्दा प्रतिस्पर्धा बढेकाले व्यवसायमा गिरावट आएको कम्पनीले जनाएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक घनश्याम काब्रा रहेका छन् भने बिपिन काब्राले कम्पनीमा निर्देशकको भुमिका निर्वाह गर्दै आएका छन् । काब्रासँग खाद्य प्रशोधन र व्यापार क्षेत्रमा लगभग दुई दशकको अनुभव छ । 

कम्पनीले रेटिङ्ग एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडबाट २ अर्ब ७५ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई ए–४ प्लस रेटिङ गरेको छ । 

Share News