नेपाली ३० हजार वर्गमिटर गलैँचा तेस्रो मुलुक निर्यात

काठमाडौं । बारा-पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरेको हो ।

उक्त इन्डस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि  भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो ।

‘करिब १ करोड रुपैयाँ बराबरको गलैँचा सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ,’ लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न बन्न सफल भएको उल्लेख गर्दै उनले भने । 

जितपुर-सिमरा उपमहानगर-२३ मा रहेको उक्त उद्योगले १०० जनालाई रोजगारी दिएको छ । उद्योगको  वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ । उद्योगका अनुसार प्रतिवर्गमिटर मिटर ९०० रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मका गलैँचा उत्पादन हुने गरेको छ । विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको उद्योगमा ४० करोड रुपैयाँ लगानी भएको छ । 

यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुसीको कुरा भएको बताए । 

Share News