रसुवागढीमा बेलिब्रिज राख्न नेपाल-चीन सहमत, शुक्रबारदेखि सडक खुल्ने

काठमाडौं । बाढीले क्षति पुर्याएको रसुवागढी नाकास्थित मितेरी खोलामा बेलिब्रिज राख्न नेपाल र चीन सरकारबीच सहमति भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा दसैँअघि नै बेलिब्रिज जडान गर्ने सहमति जुटेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँगको छलफल सकारात्मक रहेको र दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको जानकारी दिए । असार २४ गते भोटेकोसी नदीमा आएको बाढीले स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बगाएपछि ९ दिनदेखि चीनसँगको व्यापारिक नाका ठप्प छ । बाढीले करिब १.१ किलोमिटर सडकमा क्षति पुर्याउँदा टिमुरे र रसुवागढीबीचको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।

हाल उक्त सडक मर्मतको काम अन्तिम चरणमा पुगेको र शुक्रबारदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको सडक विभागले जनाएको छ । सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेका अनुसार लिङलिङको एक स्थानमा करिब ५० मिटर सडकखण्ड जोखिमपूर्ण अवस्थामा छ । ‘माथि पहिरो र तल खोलाको कटानले गर्दा उक्त स्थानमा बाटो खोल्न बाँकी छ,’ उनले भने, 'अन्यत्र सबै ठाउँमा एकतर्फी ट्र्याक खोलिसकिएको छ ।’

उनका अनुसार उक्त ठाउँमा अहिले ७ जनाको प्राविधिक टोली स्थलगत रूपमै खटिएको  छ भने तीनवटा एक्स्काभेटर प्रयोग गरेर बाटो खुलाउने काम तीव्र गतिमा भइरहेको छ । 

मितेरी खोलाको पुल पुनर्निर्माणका लागि नेपालतर्फबाट सामग्री लैजान तत्काल सम्भव नभएकाले चीनतर्फबाटै सामग्री ल्याएर निर्माण गर्नेबारे दुई देशबीच समन्वय भइरहेको छ । सडक पूर्ण रूपमा खुलेपछि मात्र कस्ता सवारीसाधन सञ्चालन गर्न सकिन्छ भन्ने यकिन हुने बताइएको छ ।
 

Share News