काठमाडौं । सहकारी प्राधिकरणका नव नियुक्त अध्यक्ष डा. खगराज शर्माले साउन मसान्तसम्म ‘सहकारी प्राधिकरणले काम सुरु गर्यो है’ भन्ने सन्देश दिनेगरी काम सुरु भइसकेको बताएका छन् ।
शर्माका अनुसार प्राधिकरणले सबैभन्दा पहिले समग्र सहकारीहरूलाई नियमन गर्नका लागि विधि निर्माणको काम सुरु गरिसकेको छ ।
सहकारीहरू यसरी असरल्ल बन्नुका पछाडिका कारण पत्ता लगाउने काम भइरहेको उनले बताए । ‘स्वनियमले चल्नुपर्ने अभियान किन असफल बन्यो, सहकारी नियमन गर्ने सरकारी निकाय प्रभावकारी हुन नसक्नुका कारणबारे पनि प्राधिकरणले सूक्ष्म अध्ययन सुरु गरेको छ,’ डा. शर्माले भने ।
अहिलेसम्मको अध्ययनमा सहकारीको अवधारणा विपरीत जग्गामा अत्यधिक लगानी गरिएको देखिएको छ । जग्गाको मूल्य उचालिएको बेला भएको लगानी र वर्तमानको वास्तविकताबीच ठूलो असमानता देखिएको भन्दै यसलाई व्यवस्थापन गर्नु नै सबैभन्दा ठूलो चुनौती भएको शर्माले बताए ।
'विगतमा विधि निर्माण गरियो, तर पालना भएन । सञ्चालकहरू इमानदार बन्न सकेनन्,' शर्माले भने, 'अब त्यो विगतलाई बिर्साउने गरी म काममा जुटिएको छु ।'
शर्माका अनुसार आफ्नो पहिलो काम स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर देशभरका सहकारीहरूको संख्या यकिन गर्नु रहेको छ। त्यसका लागि विधि र सफ्टवेयर निर्माणको काम भइरहेको उनले जानकारी दिए।
सफ्टवेयर निर्माणपछि सबै सहकारीहरूलाई प्राधिकरणमा दर्ता गर्न आह्वान गरिनेछ। दर्ता प्रक्रियामा सहभागी नभएका सहकारीहरूबारे खोजी कार्य सुरु गरिनेछ । शंकास्पद सहकारीको विषयमा फिल्डमै पुगेर अध्ययन गरिने शर्माको भनाइ छ ।
'म फेरि विकास न्यूजमार्फत जोड दिएर भन्छु, साउन मसान्तसम्म सहकारीको बिग्रिएको छवि सुधार्ने काम हुनेछ। सहकारी फेरि सहकारीकै अवधारणाअनुकूल चल्ने वातावरण बनेको सबै सहकारी अभियन्ताहरूले देख्न पाउनेछन्,' उनले भने ।
उनका अनुसार अब तुरुन्तै सहकारीलाई देशको अर्थतन्त्रको एक सशक्त खम्बा बनाउने आफ्नो एकसूत्रीय मिसन रहेको छ ।