काठमाडौंमा इन्टरप्रेनरसिप सम्मेलन हुँदै, ६ देशका विशेषज्ञ सहभागी हुँदै

काठमाडौं । किङ्स कलेजले नेपाल इन्टरप्रेनरसिप सम्मेलन गर्ने भएको छ । बुधबार कलेजमा पत्रकार सम्मेलन गर्दै कलेजले आगामी साउन १०–११ गतेसम्म सम्मेलन गर्न लागेको जानकारी दिएको छ । नेपालमा उद्यमशीलता र व्यवसाय शिक्षा प्रदान गर्दै आइरहेको कलेजले सोल्टी होटेलमा आयोजना गर्न लागेको सम्मेलनमा नेपालसहित  फिनल्याण्ड, जापान, भारत, बङ्गला देश, र कोसोभो लगायतका देशका २५ भन्दा बढी वक्ता र विज्ञहरू सहभागी हुने जनाएको छ ।

‘टुवर्डस् सस्टेनेबल इन्टरप्रेनरसिप इकोसिस्टम’ भन्ने मूल नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो संस्करण हो । दुई दिने यो कार्यक्रमले दिगो उद्यमशीलता क्षेत्रमा कार्यरत शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी, तथा सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको छ । सम्मेलनले शैक्षिक ज्ञान र व्यवहारिक अनुभवलाई जोड्दै, उद्यमशीलताको विविध पक्षमा गहन संवाद र छलफललाई प्रवद्र्धन गर्न सहकार्यको अवसर प्रदान हुने कलेजले विश्वास लिएको छ । 

कार्यक्रमको बारेमा जानकारी दिँदै अनुसन्धानकर्ता एंव कार्यक्रम संयोजक सगुनबाबा श्रेष्ठले २०१६ सालदेखि अन्तराष्ट्रिय सम्मेलन गर्दै आएको बताइन् । उनले सम्मेलनका सत्रहरूमा शैक्षिक अनुसन्धान र व्यावसायिक कार्यान्वयनबीच सम्बन्ध उजागर गर्ने गरी विचार-विमर्श, शोधपत्र प्रस्तुतिकरण गरिने बताइन् ।

सम्मेलन कनभेनर तथा किङस कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेले  यस्ता सम्मेलनले नेपालमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्न सहयोग पुग्ने बताए । उनले भने, ‘यो सम्मेलनले आर्थिक वृद्धिमा टेवा दिन, बेरोजगारी न्यूनीकरण गर्न, दिगो विकासलाई प्रवद्र्धन गर्न, र विकासशील राष्ट्रका युवाहरूलाई उनीहरूले सामना गरिरहेका चुनौतीहरूसँग जुझ्न सहयोग पुर्याउने आशा गरेका छौं ।’

कार्यक्रममा  अन्तर्राष्ट्रिय तथा स्थानीय उद्यमी, अनुसन्धान नीतिनिर्माता, विकास साझेदार, सरकारी प्रतिनिधि, र विद्यार्थी गरी २ सय भन्दा बढी सहभागीहरू हुने अपेक्षा गरिएको छ । 

कलेजका अध्यक्ष नरोत्तम अर्यालले २०११ मा किङस कलेज टेकओभर गर्दा नेपालमा उद्यमशीलता शिक्षा निकै कम रहेको स्मरण गरे । विकासका लागि बैङ्कतर्फको आकर्षण बढी रहेको बेला उद्यमशीलताको आवश्यकता गर्दै सुरु गरेको कलेज अहिले अन्तराष्ट्रिय सम्मेलन गर्ने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गरे । 

नेपाली युवाहरू स्वदेशमा अवसर नभएको भन्दै वैदेशिक रोजगारीका लागि विदेश भइरहेको बेला स्वदेशमा भएका रिसोर्सलाई कसरी भ्यालुएड गर्न सकिन्छ भन्ने उद्देश्यले उद्यमशीलता शिक्षा सुरु गरेको बताए । 

पहिलो चरणमै इन्टरप्रेनरसिप कार्यक्रम लन्च गरेको थियो । धेरै आरोहअवरोह गर्दै अहिले यो अवस्थामा पुगेको बताए  ।  कार्यक्रम सुरु गर्दा विद्यार्थीको रुचि यो विषयमा धेरै कम  थियो । तर पछिल्लो समयमा विद्यार्थीको आकर्षण निकै बढेको छ । एउटा ब्याचमा ६, ७ जना विद्यार्थीलाई जम्मा गरेर, आफै चिया कफी खाएर विद्यार्थीलाई उद्यमशीलताका विषयमा पढाउन सुरु गरेका थियौं, उनी भन्छन्,‘अहिले आउँदा, नेपालमा उद्यमशिलताको विषयमा चर्चा हुन्छ, पढाइ हुन्छ सरकारले पनि धेरै कार्यक्रम ल्याएको छ , बैंकहरूले पनि प्राथमिकता दिएको छ अहिले निकै खुसी लागेको छ ।’ 

उद्यमशीलता अहिले पनि गर्न धेरै बाँकी रहेको भन्दै अर्यालले नेपाललाई साच्चै अगाडि बढाउने हो भने हरेक क्षेत्रमा उद्यमीहरूको जरुरी रहेको बताए । ‘उद्यमी नयाँ भेन्चर क्रियट गर्ने मात्र होइन उद्यमशिल मानसिकताको जरुरी छ,’उनी थप्छन्, ‘नेपालमा राजनीतिमा उद्यमशिलताको जरुरी छ, शिक्षामा उद्यमशीलता चाहिएको छ, संसार धेरै अगाडि बढीसक्यो समाज धेरै अगाडि बढिसक्यो तर, जे भइरहेको छ त्यो भन्दा कसरी नयाँ तरिकाले अगाडि बढ्न सकिन्छ भन्ने कुरा सोच्न सक्योमात्र केही गर्न सकिन्छ ।’ 

शिक्षित भट्टले टुटलबारे सोच्दा राइडसेयरिङ यहाँसम्म पुगेको सुनाए । ‘नेपाल बैंक अथवा राष्ट्रिय बाणिज्य बैंकमा एउटा चेक साट्जाँदा सात वटा झ्यालमा जानुप्रथ्यो अहिले विश्वास ढकालले सोच्दा बैङकिङ क्षेत्रलाई कहाँबाट कहाँसम्म पुर्यायो अहिले हातको मोवाइलबाट एकैछिन पेमेन्टको काम हुन्छ यो सबै उद्यमशिल मानसिकता हो,’ उनले भने ।  

उनले अब सरकारको मुख ताक्नुभन्दा व्यक्ति आफैले आफैसँग भएको स्रोत र साधनमा आधारित नयाँ प्रविधि प्रयोग गरी कसरी हाम्रा समस्या हामी नै समाधान गर्न सक्छौं भनेर लाग्नुपर्ने बताए ।  
 

Share News