पूर्व गृहमन्त्री खाँणलाई व्यापार संघले बुझायो ज्ञापन पत्र, उद्योगमैत्री नीति र कर सुधारको माग

काठमाडौं । मोरङ उद्योग व्यापार संघको एक प्रतिनिधिमण्डलले पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट गरी उद्योगी-व्यवसायीका समस्याबारे ज्ञापनपत्र बुझाएको छ ।

संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, पूर्व अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायतको टोलीले बुधबार खाँणलाई भेट गरी आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा मौद्रिक नीति उद्योगमैत्री भए पनि अझ सुधार आवश्यक रहेको धारणा राख्दै ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

ज्ञापनपत्रमा बीमा क्षेत्रमा रहेको अत्यधिक प्रिमियम दर न्यूनीकरण, कवाडीजन्य फलामको धुलो र सिसाको टुक्राको निर्यातमा लाग्ने भन्सार महसुल खारेज, एमएस वायर रडमा गरिएको भन्सार महसुल वृद्धिको पुनरावलोकन, अति आवश्यक सुतिका कपडामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेजजस्ता माग समावेश छन् ।

त्यसैगरी, सुनका गहना तथा बहुमूल्य पत्थर जडित गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने माग पनि संघले राखेको छ ।

भेटमा संघका वाणिज्य उपाध्यक्ष अनिल सारडा, महासचिव संजय कुमार श्रेष्ठ, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य र महिला उद्यम समिति सदस्यहरूको पनि उपस्थिति थियो ।

Share News