काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न शैक्षिक सुधारको माग राख्दै सोमबार काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।
नेविसंघले विशेषगरी लामो समयदेखि रोकिएको विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागलाई प्राथमिकताका साथ उठाएको छ ।
सोमबार बिहानैदेखि त्रिचन्द्र क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल कमर्स क्याम्पस (बानेश्वर), कोटेश्वर बहुमुखी क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पस लगायतका क्याम्पसअगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।
नेविसंघले विद्यालयमा हुने दोहोरो भर्ना तत्काल बन्द गरियोस्, छात्रवृत्ति वितरणलाई पारदर्शी र न्यायोचित बनाइयोस्, शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट गरियोस्, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गरियोस्, विश्वविद्यालयहरूमा योग्यता र क्षमताका आधारमा पदाधिकारी नियुक्ति गरियोस्, विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित नभई गरिने सिनेट बैठक मान्य नहुने लगायत मागहरुअघि सारेको छ।
प्रदर्शनकारीहरूले यी मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् ।