अर्बपतिको परिचय बनाएका राजु कँडेलको पद्मा कोलोनी लिलामीमा, व्यवसाय चौपट

काठमाडौं । ऋण चुक्ता नगरेपछि पद्मा कोलोनी लिलामीमा परेको छ । कर्जा लिएको पद्मा कोलोनी प्रालिले साँवा, ब्याज नियमित नगरेपछि सांग्रिला डेभलपमेन्ट बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो ।

कर्जा चुक्ता गर्न पटक-पटक ताकेता गरेपनि बेवास्ता गरेपछि बैंकले ३५ दिन भित्रमा कर्जा तथा सुविधा बापतको रकम भुक्तान गर्न ताकेता गरेको हो । उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा कालोसूचीमा राखिने बैंकले जनाएको छ । 

साथै कानुनले बैंकलाई दिएको अधिकार प्रयोग गरी ऋणीको घरघराना तथा अन्य जायजेथा खोजी असुल गर्ने, सम्बन्धित सबैलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्न लेखी पठाउने तथा अन्य कानूनी प्रक्रिया अपनाई सम्पूर्ण लेना असुल गर्नेतर्फ आवश्यक कारबाही अगाडि बढाइने बैंकले चेतावनी दिएको छ ।

बैंकका अनुसार पद्मा कोलोनीको नाममा रहेको कलंकी काठमाडौं र लगनखेल ललितपुरमा रहेका जग्गा बिक्रीमा राखिएको हो । पद्मा कोलोनीका अध्यक्ष राजु प्रसाद कडेल हुन् । उनी कम्पनीको एकल सेयरधनी हुन् । 

पद्मा कोलोनीले पहिलो प्रोजेक्ट सीतापाइलामा निर्माण गरेको थियो । त्यसपछि क्रमशः ललितपुरको कुसुन्ती, नागार्जुन नगरपालिका रामकोट र टौखेल नागार्जुनमा हाउजिङ निर्माण गरेको हो ।

व्यवसायी कँडेल घरजग्गाबाटै उदाएका हुन् । उनी सञ्चार उद्यमी समेत हुन् । 

विशेष अदालतले हालै कोलोनीका सञ्चालक राजु कँडेललाई घुस लेनदेनमा दोषी ठहर गरेको छ । कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा दायर गरेको थियो। अदालतले  कँडेललाई ८ वर्ष कैद सजाय दिँदै उनलाई र उनका कम्पनीहरूलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बराबरको बिगो तिर्नुपर्ने फैसला गरेको थियो ।

उनी जेल पर्ने भएपछि अहिले उनको नेतृत्वका कम्पनीहरु समस्यामा परेका छन् । 

null

Share News