सहकारीको ऋण खाएर मन्त्री नै फरार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सहकारीको ऋण नतिरेको खुलेको छ । कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको बलिया बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर राज्यमन्त्री चौधरीले ऋण भुक्तानी नगरेको खुलेको हो । 

सो सहकारीले उनलाई सम्पर्कमा आउन पत्र काटेको छ । असार २६ गते सूचना नै जारी गरेर सहकारीले पटक-पटक ताकेता गर्दा पनि सम्पर्कविहीन भई ऋण नतिरेको उल्लेख गरेकाे छ । 

सहकारीले उनलाई ७ दिनभित्र सम्पर्कमा आई ऋण भुक्तान नगरे सहकारी ऐन २०७४, नियमावली २०७५ र संस्थाको ऋण लगानी तथा असुली कार्यविधि २०८० अनुसार असुल गरिने उल्लेख गरेको छ । 

सहकारीले उनीसँगै उनको श्रीमती  सरस्वती चौधरीको नाममा पनि सूचना सार्वजनिक गरेको छ । सहकारी स्रोतका अनुसार उनको दम्पत्तिले सहकारीको ३ लाख रुपैयाँ बढी ऋण भुक्तानी गर्न बाँकी छ । 

उनीसँगै अन्य २० जना ऋण नतिर्नेको नाममा सूचना सार्वजनिक भएकाे छ । 

चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता हुन् । उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा कैलाली २ बाट निर्वाचित भएका थिए ।
 

Share News