नागरिकलाई आयोडिनयुक्त गुणस्तरीय नुन उपलब्ध गराउन सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले आम नागरिकलाई गुणस्तरीय र आयोडिनयुक्त नुन उपलब्ध गराउन गम्भीर पहल गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री भण्डारीले विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरूका पछिल्ला तथ्यांकहरूले नुनसम्बन्धी नीति परिमार्जनको आवश्यकता औंल्याएको जनाउँदै सरकार त्यसअनुसार आवश्यक तयारीमा लागेको बताए । उनका अनुसार सडकको अवस्था कमजोर हुँदा दुर्गम जिल्लाहरूमा कोटाअनुसार नुन समयमै पुर्याउन कठिनाइ हुने गरेको छ ।

उनले भने, 'नुनको विषयमा अहिलेको व्यवस्थाले दुर्गम क्षेत्रमा समान मूल्यमा गुणस्तरीय नुन पुर्याउन गाह्रो बनाइरहेको छ । सहुलियतका कारण काठमाडौंमा नुनको मूल्य २६ रुपैयाँ छ भने बाजुरामा मात्र ९ रुपैयाँ पर्छ । यस्तो फरक मूल्यलाई बुझेर नीति पुनरावलोकन गर्न जरुरी छ ।'

उनले थपे, 'नुन आपूर्ति अहिले अर्को मन्त्रालयको जिम्मामा भए पनि यस्तो संवेदनशील विषयमा सबै मन्त्रालय जिम्मेवार हुनुपर्छ। सरकार गम्भीर भएर योजना बनाउन तयार छ ।'

यसैबीच, संसदीय समितिले आयोडिनयुक्त नुनको उत्पादन र वितरणसँग सम्बन्धित कानुन परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको निष्कर्षमा पनि वितरण प्रणाली, मूल्य एकरूपता, र गुणस्तर सुनिश्चितताका लागि तत्काल सुधार आवश्यक रहेको उल्लेख छ ।

Share News