काठमाडौं । किरण सुज म्यानुफ्याक्चरर्सले ६ महिनामा साढे ७९ करोड रुपैयाँ बढीको कारोबार गरेको छ । गोल्डस्टार जुत्ता निर्माता तथा वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिना (सन् २०२५)मा ७९ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको जुत्ताको कारोबार गरेको छ । यस्तै, सन् २०२३ मा २ अर्ब १५ करोड ४० लाख रुपैयाा, सन् २०२२ मा २ अर्ब ४२ करोड ३० लाख रुपैयाँको जुत्ताको कारोबार गरेको थियो ।
सन् १९९० मा स्थापित किरण सुजको बालाजु, भैरहवासहित तीन ठाउँमा उत्पादन प्लान्ट सञ्चालनमा छन् । कम्पनीको मुख्य लगानीकर्ता अमिर प्रताप जेबी राणा हुन् भने निर्देशक विदुषी राणा छिन् ।
कुनै समय गोल्ड स्टारले १७ वटा फ्याक्ट्री चलाउँथ्यो भने ५ हजारलाई रोजगारी दिएको थियो । तर पछिल्लो समय तीनवटा फ्याक्ट्री मात्रै सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । यी सबै उद्योगले वार्षिक कम्तीमा १ करोड ६६ लाख ५० हजार जोडी जुत्ता-चप्पल उत्पादन गर्न सक्ने क्षमता राख्छन् । तर क्षमताअनुसार कुनै पनि उद्योग सञ्चलानमा नआएको कम्पनीले जनाएको छ । गोल्डस्टार जुत्ता र हात्ती छाप चप्पल कम्पनीको मुख्य ब्राण्ड हुन् ।
कम्पनीले ४ अर्ब रुपैयाँ कर्जा लिएको छ । कम्पनीका अनुसार १ अर्ब ७९ करोड ६५ लाख रुपैयाँ दीर्घकालिन ऋण, १ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ अल्पकालीन ऋण र ५६ करोड ८२ लाख रुपैयाँ अल्पकालीन र दीर्घकालिन (एलसी÷बीजी)ऋण लिएको छ ।
नेपालमा वार्षिक करिब १६ करोड भन्दा बढी जोर जुत्ता–चप्पलको माग रहेको व्यवसायीहरु बताउँछन् । जसमध्ये वार्षिक १० करोड जुत्ता–चप्पल स्वदेशमै उत्पादन हुने गरेको छ । मुलुकभर १ हजार ५ सय हाराहारी जुत्ता–चप्पल उद्योग सञ्चालनमा छन् । विदेशी ब्राण्डका जुत्ता-चप्पल हाबी हुँदा स्वदेशी उद्योगले क्षमताअनुसार काम गर्न नसकेको व्यवसायीहरु बताउँछन् ।
नेपाली जुत्ता-चप्पल उद्योगमा ३० अर्ब रूपैयाँभन्दा बढीको लगानी रहेको व्यवसायीहरु बताउँछन् । जसमा ५५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तर, अधिकांश उद्योगमा ६० प्रतिशत भारतीय कामदार छन् । तर, गोल्ड स्टार कम्पनीमा ९९ प्रतिशत कामदार नेपाली रहेको कम्पनीले दाबी गरेको छ ।