काठमाडौं । मदिराको कारोबार निरन्तर घट्दै गइरहेको देखिएको छ । रुस्लान भोड्कासहित विभिन्न ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्ने कम्पनी विजय डिस्टिलरी प्रालिको कारोबारमा १ अर्ब रुपैयाँ भन्दा बढीले गिरावट आएको हो ।
विजय डिस्टिलरीले सन् २०२४ मा १ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । जबकी अघिल्लो वर्ष सन् २०२३ मा कम्पनीले २ अर्ब १२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको व्यवसाय ४८.३३ प्रतिशत अर्थात् १ अर्ब २ करोड ९० लाख रुपैयाँ घटेको हो ।
तर, चालु आर्थिक वर्षको ९ महिनामा भने कम्पनीको व्यवसायमा वृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (सन् २०२५) मा कम्पनीले १ अर्ब १९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । जुन सन् २०२४ मा गरेको कारोबार भन्दा धेरै नै हो ।
कम्पनीले सन् २०२२ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँ बराबरको मदिराको कारोबार गरेको थियो । यस्तै, सन् २०२० मा १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ८२ करोड ५० लाख रुपैयाँ र सन् २०१८ मा ३ अर्ब ६६ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेको कम्पनीले जनाएको छ ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका व्यवस्थापनमा सञ्चालित विजय डिस्टिलरीको मुख्य उत्पादन हो रुस्लान भोड्का । कम्पनीले विदेशी ब्रान्डसहित ८ वटालाई बजारमा उपलब्ध गराइरहेको छ । गोल्डेन ओक, काला पत्थर, हिमालयन ब्रान्डी, क्राउन रोयल, रुस्लान भोड्का, ब्लू डायमंड जिन र भोड्का लगायत ब्राण्ड प्रमुख हुन् ।
विजय डिस्टिलरी विजय कुमार शाहको स्वामित्वमा सञ्चालित छ । लुम्बिनी प्रदेशको परासीमा बोटलिङ उद्योग रहेको यस कम्पनीले देशभर २४० भन्दा सब-डिलरमार्फत् आफ्नो सञ्जाल विस्तार गरेको छ ।
रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीलाई अल्पकालीन ऋणका लागि ए फोर रेटिङ र दीर्घकालिन ऋणका लागि एलबीबी रेटिङ प्रदान गरेको छ । कम्पनीले २८ करोड ४० लाख रुपैयाँ दीर्घकालिन र ४५ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण लिएको जनाएको छ ।