काठमाडौं । नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपालमा मेट्रो रेलमा लगानी परिचालन गर्न जर्मनी र बेलायतका लगानीकर्तासँग छलफल अघि बढाइएको बताएका छन् ।
लन्डनमा आयोजित एक विशेष बीटुबी मिटिङमा अध्यक्ष कुँवरले उक्त जानकारी दिएका हुन् । उक्त कार्यक्रम नेपाली राजदूतावास, लन्डन र सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेको संयुक्त आयोजनामा भएको हो ।
नेपालको तर्फबाट कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली र अध्यक्ष कुँवर सहभागी थिए ।
कार्यक्रममा सीईओ ज्ञवालीले नेपालमा विशेषगरी यातायात पूर्वाधार क्षेत्रमा लगानीका थुप्रै सम्भावना रहेको उल्लेख गर्दै मेट्रो रेलमा संयुक्त लगानीको प्रस्ताव राखे । उनले लगानीकर्तालाई नेपाल सरकारले लगानीको पूर्ण सुरक्षा दिने प्रत्याभूति रहेको समेत प्रस्ट पारे ।
उनले भने, 'नेपालमा अहिले लगानीको अनुकूल वातावरण छ । प्रतिफलको सम्भावना राम्रो छ। पूर्वाधार विशेष गरी मेट्रो रेल जस्ता परियोजनामा लगानीको ठुलो अवसर छ ।'
कार्यक्रममा सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको प्रारम्भिक खाका प्रस्तुत गर्दै प्रविधि, लागत र सम्भाव्यताका विषयमा प्राविधिक विवरणसमेत राखे । उनले मेट्रो रेल नेपालका सहरी क्षेत्रका लागि अत्यावश्यक भएको भन्दै यसमा लगानी गर्न उपयुक्त समय रहेको बताए ।
त्यसैगरी, बेलायतका लागि नेपालका महामहिम राजदूत चन्द्र घिमीरेले नेपालको व्यवसायिक वातावरण सुधारोन्मुख रहेको उल्लेख गर्दै लगानीकर्ताहरूलाई मेट्रो रेललगायत ठूला पूर्वाधार परियोजनामा सहभागी हुन आग्रह गरे ।
कार्यक्रममा सहभागी बेलायती र जर्मन व्यवसायीहरूले नेपालमा मेट्रो रेल परियोजनामा चासो देखाउँदै थप अध्ययन र सहकार्यका लागि इच्छा व्यक्त गरेका थिए ।