काठमाडौं । निजी क्षेत्रका तीन संस्थाले आगामी मौद्रिक नीति लचिलो आउनुपर्ने माग गरेका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी मौद्रिक नीति २०८२/८३ को छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरूको अनुहारमा हाँसो आउने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल अहिलेको ब्याजदरलाई दीर्घकालसम्म स्थिरता दिने गरी मौद्रिक नीति आउनुपर्ने बताउँछन् । साथै, आफूहरूसँगको भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सरप्राइज हुने किसिमको नीति नल्याउने बताएको उनले जानकारी दिए ।
कोरोनाकालमा राष्ट्र बैंकले सहज नीति ल्याएको भएपनि लगत्तै नीति पुनरावलोकनमा कडाइ गरेको हुँदा अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ । उनका अनुसार उद्योग व्यवसाय ५० प्रतिशत क्षमतामा चलिरहेका छन् ।
‘गभर्नरज्यूले हामीसँगको भेटमा सरप्राइज हुने गरि नीति नल्याउने भन्नु भएको छ । अब ब्याजदर स्थिरतामा ध्यान दिनुपर्नेछ । विदेशमा ०.२५ प्रतिशत ब्याजदर बढ्दा बहसको विषय बन्छ । तर नेपालमा ८ प्रतिशतको ब्याज १६ प्रतिशत पुग्दा कसैले ध्यान दिँदैन,’ उनले भने, ‘नियन्त्रण मुखी नीति ल्याउँदा बजार अझै सशंकित हुने भएकाले सहज नीति ल्याउनुपर्छ । सबै उद्योगी व्यवसायीको मुखमा हाँसो ल्याउने मौद्रिक नीति आउने विश्वास लिएको छु ।’
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा ब्याजदर धेरै सस्तो, रेमिटेन्स उच्च आउँदा पनि कर्जा लगानी हुन नसक्नुमा पछि थुप्रै कारणहरू रहेको बताउँछन् । साथै, पुँजी पलायन भइरहेको उनको भनाइ छ । अस्थिर नीतिले अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ । बैंकहरुले ५ प्रतिशतसम्म प्रिमियम लिइरहेको हुँदा यसमा राष्ट्र बैंकले हस्तक्षेप गरेर झार्नुपर्ने उनले माग गरे ।
‘सहकारी संस्था आफैले घरजग्गामा लगानी गरेका छन् । घरजग्गामा कडाइ गर्दा त्यो बिक्री वितरण हुन नसक्दा सहकारीमा समस्या आएको हो । अहिले घरजग्गामा माग छैन, सप्लाइ उच्च छ,’ उनले भने, ‘उद्योगी व्यवसायीले गरेको गल्तीलाई राष्ट्र बैंकले सच्चिने मौका दिनुपर्छ । अब कसैले गल्ती नगर्ने गरि सुधारको पक्षमा छन् ।’
नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष बिरेन्द्र पाण्डे कालोसूचीमा राख्ने प्रावधानलाई खुकुलो गरेर बढाउनुपर्ने बताउँछन् । साथै, वर्किङ क्यापिटल गाइड लाइनमा पुनरावलोकन गर्न जरुरी रहेको उनको भनाइ छ ।