काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयरमा आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ । असार १ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गरेको हो ।
कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक र राप्ती हाइड्रोको कर्पोरेट कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै मुक्तिनाथ विकास बैंकका विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज पर्सा, जनकपुर धनुषा, नारायणगढ चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।