काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आज असार २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूलाई १८ हजार ६५० कित्ता, सामूहिक लगानी कोषहरूलाई ४६ हजार ६२५ कित्ता र बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि उक्त समयमा सेयर बिक्री नभएमा आवेदन दिने समय साउन ६ गतेसम्म लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।