काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा समसामयिक आर्थिक विषयमा एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, प्रतिनिधिसभा सदस्य तथा अर्थविद् डा. स्वर्णिम वाग्ले र प्रवक्ता तथा सांसद मनीष झाको विशेष उपस्थिति थियो ।
छलफलको सुरुवातमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले हालको आर्थिक अवस्थालाई चिन्ताजनक भन्दै स्वदेशी उद्योगहरू आन्तरिक र बाह्य अस्थिरताले संकटमा परेको बताए । उनले बैंकिङ क्षेत्रको तरलता र घट्दो ब्याजदरका बाबजुद उद्योगले अपेक्षित प्रगति गर्न नसकेको उल्लेख गरे । साथै, बढ्दो लजिस्टिक खर्च, उत्पादन लागत र व्यापार घाटाले अर्थतन्त्रमा थप दबाव परेको धारणा राखे ।
डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासक्रम संकुचित हुँदै गएको भन्दै सुधारका कदम ढिला नगरी तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए । युवाहरूको विदेश पलायन रोक्न स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिए ।
त्यस्तै, प्रवक्ता मनीष झाले दीर्घकालीन योजना र एकीकृत रणनीतिको खाँचो औंल्याउँदै उद्योगमैत्री नीतिको अभावले लगानीकर्तामा अनिश्चय र निराशा बढाएको बताए ।
कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले लोडसेडिङ र ट्रिपिङका कारण उद्योगहरू प्रभावित भइरहेको बताएका थिए भने पूर्वअध्यक्ष सुयश प्याकुरेलले प्रक्रिया सरलीकरणमा समय खेर जाने समस्या औंल्याए ।
संगठनका कोषाध्यक्ष पारस लुनियाले कागजजन्य वस्तुको निर्यातका लागि आवश्यक कच्चा पदार्थमा महसुल समायोजन नगरेकोप्रति असन्तोष व्यक्त गरे । कार्यसमिति सदस्य सौरभ सारडाले नीति तथा कानुनको द्रुत परिवर्तनले लगानी र उद्योग सञ्चालनमा अन्योलता पैदा गरिरहेको बताए ।
कार्यक्रममा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा, महिला उद्यमी, युवा उद्यमी तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।