३ अर्ब रुपैयाँले घट्यो अशोक स्टीलको व्यापार, बजारमा छैन माग

काठमाडौं । अशोक स्टील इन्डस्ट्रिज प्रालिको व्यवसायमा ४६.१४ प्रतिशत गिरावट आएको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको स्टीलको कारोबार गरेको छ । जबकि सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको व्यवसाय ४६.१४ प्रतिशत अर्थात् ३ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार घटेको हो । 

स्टीलको मागमा आएको कमी र उच्च ब्याजदरका कारण आम्दानीमा गिरावट आएको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (सन् २०२५) मा कम्पनीले १ अर्ब ४८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । विविध कारणले यस वर्ष पनि कम्पनीको आम्दानीमा तुलनात्मक कमी आउने कम्पनीको भनाइ छ ।

सन् १९८४ मा स्थापित अशोक स्टीलले स्पञ्ज आइरन, पिग आइरन र स्क्राइब कच्चा पदार्थ प्रयोग गरी एमएस ब्लेड उत्पादन गरिरहेको छ । गढीमाई बारामा उद्योग रहेको यस कम्पनीले वार्षिक १ लाख मेट्रिक टन टीएमटी उत्पादन गर्दै आएको छ । 

सन् २०२२ मा कम्पनीले ६ अर्ब ८८ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड १० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ३ अर्ब ५९ करोड ४० लाख रुपैयाँ, सन् २०१७ मा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ र सन् २०१६ मा ९३ करोड ४० लाख रुपैयाँको स्टीलको व्यापार गरेको थियो । 

तीन दशकदेखि नेपाली बजारमा रहेको अशोक स्टीलको अध्यक्ष तथा प्रबन्ध निर्देशक पुनमचन्द अग्रवाल हुन् । उनीसँग स्टील उत्पादन उद्योगमा ३० वर्षभन्दा बढीको अनुभव छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक तुलसियान हुन् । कम्पनीको देशभर २५० बढी डिलर र ५ सय बढी खुद्रा बिक्रेता छन् । 

कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि बी प्लस रेटिङ प्रदान गरेको छ । साथै, १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ दीर्घकालिन ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ । 

Share News