काठमाडौं । ‘नेपाल सुरुङयुगसँगै नयाँ युगमा प्रवेश गरेको छ । विकास निर्माणको गति निरन्तर अघि बढ्ने छ । ‘नेपालमा केही भएन’ भन्ने भाष्यको खण्डन भएको छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले गत साल साउन २१ गते सिद्धबाबा दोभान सुरुङमार्गको ब्रेकथ्रू कार्यक्रममा बताएका थिए ।
प्रधानमन्त्री ओलीको सम्बोधनमा कति दम र इमानदारी थियो भन्ने विषय उनी स्वयं जानून्, तर उनले भनेजस्तै नेपाल सुरुङ युगमा प्रवेश गरेको भने स्वीकार गर्न सकिने तथ्य हो ।
हुन त नेपालमा २५५ वर्षअघि नै सडक यातायातका लागि सुरुङ बनाइएको इतिहास छ । तर पनि आधुनिक सडक संरचनामा सुरुङयुगतर्फको नेपालको यात्रा आज पनि आम नेपालीका लागि नौलो नै रहेको छ ।
नेपालका लागि सुरुङ नौलो भए पनि हालसम्म सडक, सिँचाइ र जलविद्युत प्रयोजनका लागि गरेर कुल ४०२ किलोमिटर सुरुङ निर्माण भइसकेको विभिन्न तथ्याङ्कहरूले देखाएका छन् । इन्जिनियर रामहरि शर्माका अनुसार ओलीले भनेको भए पनि नभए पनि नेपाल सुरुङ युगमा प्रवेश गरिसकेको छ।
विसं १९७४ मा अमलेखगञ्ज-भीमफेदी सडकमा ५०० मिटर लामो सुरुङ निर्माण गरेर सुरु गरिएको सुरुङ इतिहास अहिले ४०२ किमी लामो भइसकेको छ । यो संख्या प्रस्तावित सुरुङहरूको आधारमा अझ बढ्ने निश्चित छ ।
नेपालमा सडक यातायात, विद्युत उत्पादन र सिँचाइ प्रयोजनका लागि सुरुङहरू खनिएको पाइन्छ । हालसम्म सबैभन्दा धेरै सुरुङहरू सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको तथ्याङ्कले देखाउँछ । इन्जिनियर शर्माका अनुसार हालसम्म सिँचाइ प्रयोजनका लागि ३५० किमी सुरुङ तयार भइसकेका छन्।
सडक प्रयोजनका लागि भने हालसम्म जम्मा २१ दशमलव २८८ किमी सुरुङहरूको ब्रेकथ्रु भइसकेको छ । जसमध्ये सिस्नेखोला-नागढुङ्गा सुरुङमार्ग सवारी आवागमनका लागि तयार भइसकेको छ । यसको लम्बाइ २ दशमलव ६८८ किमी रहेको छ । यो सुरुङमार्ग असोजको पहिलो सातामा प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । यस सुरुङको कुल लागत २२ अर्ब रुपैयाँ रहेको छ, जसमा १६ अर्ब जापान सरकारको अनुदान तथा ६ अर्ब नेपाल सरकारको अंश रहेको छ ।
त्यसैगरी, सिद्धबाबा-दोभान सुरुङ मार्गको पनि ब्रेकथ्रू भइसकेको छ, जसको लम्बाइ १.१२६ किमी रहेको छ ।
हाल सडकमा प्रयोगमा नरहे पनि नेपालको पहिलो सुरुङ अमलेखगञ्ज-भीमफेदी सुरुङ २ दशमलव ७ किमी लामो रहेको छ । यस्तै, काठमाडौं-तराई-मधेस द्रुतमार्गका सातवटा सुरुङका जम्मा १०.१ किलोमिटर कुल लम्बाइ रहेको छ ।
यीबाहेक अन्य ५ वटा सुरुङहरू प्रस्तावित अवस्थामा छन । जसमध्ये केहीको सम्भाव्यता अध्ययन सुरु भइसकेको छ । विज्ञहरूका अनुसार हाल प्रस्तावित सुरुङ मार्गहरू नै निर्माण सकिएका वा निर्माणाधीन आयोजनाहरूभन्दा अझ महत्त्वपूर्ण छन् ।
निर्माणाधीन सुरुङमा थानकोट चित्लाङको सम्भाव्यता अध्ययन भइरहेको छ । चरीकोट तामाकोशी पनि जाइका नेपालको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको सुरुङमार्ग हो ।
पर्यटकीय सहर पोखराको सुन्दरतामा ट्राफिक जाम भिलेन हुनसक्ने ठानेर नेपाल सरकारले हेम्जा पोखरा सुरुङ मार्गको पनि अध्ययन सुरु गरेको छ । यीबाहेक चरीकोट तामाकोशी सुरुङमार्ग, जाजरकोट जुम्ला सुरङमार्ग र बबइ छिन्चु सुरुङ मार्ग पनि नेपा सरकारको प्रस्तावित सुरुङमार्गमा पर्दछन् ।