काठमाडौं । लक्ष्मी स्टील्सको व्यवसायमा गिरावट आएको छ । कम्पनीले सन् २०२४ मा ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ बराबरको स्टीलको कारोबार गरेको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा कम्पनीको आम्दानी १४.७२ प्रतिशतले गिरावट आएको हो ।
सन् २०२३ मा कम्पनीले ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो ।
सौरभ ग्रुप अन्तर्गतको लक्ष्मी स्टील्सले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (सन् २०२५) मा ६ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको छ ।
सन् २०२२ मा ८ अर्ब ५४ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।
इन्फोमेरिक्स रेटिङले कम्पनीलाई त्रिपलबी रेटिङ प्रदान गरेको छ । अल्पकालीन कर्जाका लागि एथ्रीप्लस रेटिङ पाएको छ । कम्पनीले दीर्घकालिन १८ करोड ९० लाख रुपैयाा र अल्पकालीन ३ अर्ब ७७ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो ।
सन् २००८ मा सौरभ ग्रुपले स्थापना गरेको लक्ष्मी स्टील्सले टिएमटी रड, ब्लेड र रिब्ड तारहरू उत्पादन गर्दै आएको छ । नवलपरासीको सुनवलमा अत्यधुनिकस्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिइरहेको छ । रडको लागि १ लाख ५० हजार मेट्रिक टन र बिलेटको लागि १ लाख ८० हजार मेट्रिक टन उत्पादन गर्ने क्षमता राख्छ ।
लक्ष्मी स्टील्सले हालै चुक्ता पुँजीको २० लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गरेको छ । कम्पनीले सेयर बिक्रीमा राख्दा प्रतिकित्ता २६५ रुपैयाँ तोकेको थियो ।