वाईवाई चाउचाउको व्यापार ११.११ प्रतिशत घट्यो

काठमाडौं । ९ महिनामा वाईवाई चाउचाउको पौने ६ अर्ब रुपैयाँ हारहारीको कारोबार भएको छ । वाईवाई चाउचाउ उत्पादन गर्ने चौधरी ग्रुपको सिजी फुड्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (सन् २०२५)मा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो । 

सन् २०२४ मा कम्पनीले ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा सिजी फुड्सको आम्दानी ११.११ प्रतिशत अर्थात् १ अर्ब १ करोड ४० लाख रुपैयाँ घटेको देखिन्छ । 

सिजी फुड्सले सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा ७ अर्ब २३ करोड ४० लाख रुपैयाँ सन् २०२० मा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँ बराबरको वाईवाई चाउचाउको कारोबार गरेको थियो । 

९९ करोड ५५ लाख रुपैयाँ सर्ट टर्म (अल्पकालिन) ऋणका लागि रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी एवान रेटिङ प्रदान गर्छ । 

सिजी फुड्स चौधरी ग्रुप अन्तर्गतको कम्पनी हो । सन् १९८४ देखि वाईवाई चाउचाउ उत्पादन गरी बिक्री वितरण गर्दै आएको सिजी फुड्समा निर्वाण चौधरीको ७६ प्रतिशत, एमएस अपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत, राहुल चौधरीको ०.२ प्रतिशत र बाँकी अन्य ३ जना सेयर धनीको नाममा छ । सन् २०२३ मा कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा रुपान्तरण भएको हो ।

Share News