काठमाडौं । वर्षा सुरु भएसँगै देशभरका सडक अस्तव्यस्त छन् । विशेषगरी नारायण-बुटवल सडकखण्डको मारमा नागरिकले निकै सास्ती खेप्नु परेको छ । सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।
'अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ', उनले भने ।
उनका अनुसार वर्षाका कारण विनयी त्रिवेणी-३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको हो ।
'अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ', प्रहरी उपरीक्षक ढकालले भने ।
राजधानी आउँदै गरेका नागरिकहरू सडकमै रात बिताउन बाध्य छन् । महेन्द्रनगरका भुवन कुँवर दाउन्ने सडक अवरुद्ध हुँदा एक दिन बाटोमै बस्न बाध्य भए । त्यस्तै, बुटबलका श्याम विष्ट पनि दाउन्नेमा अलपत्र परे । भुवन र श्याम प्रतिनिधिपात्र मात्र हुन् ।
पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलामा गत पुस २६ गते फलामे पुल भाँचिएपछि तत्कालीन रूपमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सुचारु गरिएको थियो ।
उक्त पुल पूर्वी नवलपरासीमा रहेको सबैभन्दा लामो पुल हो, जुन अत्यधिक भार बोकेको भारतीय मालबाहक लरीका कारण क्षतिग्रस्त भएको थियो ।
पुल भाँचिएपछि सो स्थानको उत्तरतर्फ डाइभर्सन बनाइएर यातायात सञ्चालनमा ल्याइएको भए पनि केही हप्तामै परेको भारी वर्षाले डाइभर्सन बगायो, जसले गर्दा पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन र मालसामान ढुवानी पूर्णरूपमा अवरुद्ध भएको छ ।
डाइभर्सन विकल्पका रूपमा प्रयोग भइरहे पनि स्थानीयले मालबाहक ट्रक आवागमनमा रोक लगाएका कारण समस्या थपिएको हो ।
पुरानो पुल भाँचिएको स्थानको नजिकै नयाँ पुल निर्माणको काम सुरु भएको भए पनि लामो समयदेखि निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको सवारी सञ्चालनमा निरन्तर अवरोध आइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका अनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरिएको छ । डाईभर्सन पानी नपरेको समयमा मात्रै खुला गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका प्रमुख डिएसपी मधु नेपाल जानकारी दिए ।
उनका अनुसार दिउँसोको समयमा डाइभर्सन बनाउँदै मालबाहक गाडीहरू आवातजावत गर्ने गरिएको छ ।
उनले भने, ‘मालबाहक गाडीबाहेक अरू साना तथा ठूला गाडीका लागि अर्को बाटो प्रयोग गरिएको छ । त्यो बाटो हुँदै जाँदा १९ किलोमिटर किमी बढी लाग्छ । ’
एक हप्तामै सञ्चालनमा आउँदै विनयी खोला पुल
विनयी खोला पुलमा एक हप्तामै गाडी गुडाउने तयारी भइरहेको नारायणगढ बुटवल सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए । उनका अनुसार पुलमा रेलि र कालोपत्रेको काम मात्रै बाँकी रहेको छ ।
खनालले भने, ‘पुल पुरै नयाँ बनेको छ । यो पुल २४५ मिटर लामो छ । चौडाइ साढे ७ मिटर छ । यो पुलमा जति ठूला हेभी ट्रक गाडीहरू गुडाएपनि भाँचिदैन । पुल ठूलो भारवहन क्षमताको बनेको हो । अब अघिको जस्तो समस्या आउँदैन । हामीले एक हप्ताभित्रै गाडी गुडाउने तयारी गरिरहेका छौं ।’
पानीको निकास राम्रोसँग भएन : पूर्वाधारविज्ञ
नेपालमा वर्षा सुरु भएपछि धेरैजसो सडक भत्किने समस्या बारम्बार देखिन्छ । पूर्वाधार विज्ञहरू कभरेज क्षेत्र बढी भएका कारण यसको निकास कम भएर सानो पानी पर्दा सडक भत्किने बताउँछन् ।
पूर्वाधारविज्ञ रामबहादुर घिमिरे वर्षाको पानीको निकास उचित नहुँदा समस्या आएको बताउँछन् । उनका अनुसार वर्षाको पानीले उचित निकास पाएन भने सडकमै जम्छ अनि बिटुमिन/डामरको तहभित्र पस्छ र कमजोर बनाउँछ ।
यसले गर्दा सडकको फाउन्डेसन कमजोर पार्दछ । घिमिरेले धेरैजसो सडक निर्माणमा गुणस्तरीय बिटुमिन, ग्राभेल वा सब-बेस मेटरियल प्रयोग नगरिँदा पनि सडक भत्किने गरेको सुनाए।
घिमिरेले भने, ‘सडक बनाउँदा माटो वा ग्राभेलको तह ठीकसँग नमिलाएमा पानीले त्यसलाई छिटो कमजोर बनाउँछ । यस्तो तहमा पानी सजिलै घुस्ने भएकाले ढल्ने सम्भावना बढी हुन्छ । सडकको ढलान सही नहुँदा पानी सतहमै थन्किन्छ । धेरैजसो ग्रामीण वा नगरपालिकास्तरका सडकहरू यस्ता हुन्छन् ।’
नेपालका सडक वर्षामा भत्किनु प्राविधिक कमजोरीहरूको परिणाम हो । खासगरी कमजोर निकास प्रणाली, गुणस्तरहीन निर्माण, र डिजाइनमा ध्यान नदिइएको । दिगो समाधानका लागि इन्जिनियरिङ मापदण्डअनुसार निर्माण, गुणस्तर नियन्त्रण र नियमित मर्मतसम्भार अत्यावश्यक छन् ।