काठमाडौं । प्रभु हेलिकप्टरको आम्दानीमा व्यापक गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीको सञ्चालन आम्दानी ३७.६४ प्रतिशत घटेको छ ।
कम्पनीले सन् २०२४ मा २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जबकि सन् २०२३ मा कम्पनीले ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै सन् २०२२ मा कम्पनीले २२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीले ६४ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अल्पकालीन ऋणका लागि केयर एनपी ए फोर को रेटिङ प्रदान गरेको छ भने दीर्घकालिन ऋणका लागि केयर एनपी बी रेटिङ प्रदान गरेको छ ।
कम्पनीको नाफा मार्जिन पनि घटेको छ । सन् २०२३ मा ५४.०८ प्रतिशत नाफा मार्जिन रहेको यस कम्पनीको सुन २०२४ मा ४५.३४ प्रतिशत कायम भएको छ । सन् २०२२ मा २७.४८ प्रतिशत थियो ।
केयर रेटिङ नेपालले सञ्चालनको अस्थिरता, अत्यधिक ऋण बोकेको पुँजी संरचना र मध्यम ऋण तिर्ने क्षमता, नगद प्रवाहमा दबाब, बैंकको ब्याजदरमा अस्थिरता र पर्यटन क्षेत्रको मौसमी चक्रीय असर लगायत कारण आम्दानीमा प्रभाव परेको उल्लेख गरेको छ ।
यस्तै, अनुभवी प्रवर्द्धक, नयाँ लगानीकर्ताको आगमनको कम सम्भावना र सरकारको पर्यटन प्रवर्द्धनको नीतिले कम्पनीलाई भविष्यमा राम्रो गर्न सक्ने सम्भावना रहेको उल्लेख छ ।
सन् २०१५ मा मुक्तिनाथ एयरलाइन्स प्रालिबाट मुख्य स्वामित्व प्रभु हेलिकप्टरले खरिद गरेको थियो । कम्पनी सन् २०२२ मा प्रभु हेलिकप्टर लिमिटेड पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो ।
यस हेलिकप्टर कम्पनीमा प्रभु ग्रुपको मुख्य लगानी छ । जसको नेतृत्व देवी प्रकाश भट्टचनले गरिरहेका छन् ।