काठमाडौं । रेमिट्यान्स, बैंकिङ, बीमा, पर्यटन, पूर्वाधार, जलविद्युतदेखि सूचना प्रविधिसम्म लगानी विस्तार गरेको आईएमई ग्रुपले पछिल्लो समय उत्पादनमूलक उद्योगमा लगानी बढाइरहेको छ । २ अर्ब रुपैयाँ लगानीमा महोत्तरीको गौशालामा नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याएको केही महिनामै यस ग्रुपले रौतहटको फतुवा विजयपूरमा करिब डेढ अर्ब रुपैयाँ लगानीमा दोस्रो उत्पादनमूलक उद्योग ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालि’ सञ्चालनमा ल्याएको छ ।
नेपालकै पहिलो र उच्च गुणस्तरका फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने लक्ष्यसहित आईएमई ग्रुपले सञ्चालनमा ल्याएको हो- एभरेष्ट फाइबर सिमेन्ट बोर्ड । आफ्नै स्रोत र श्रमबाट उत्पादनमूलक अर्थतन्त्रतर्फ अघि बढ्ने दृढ विश्वासका साथ नेपाली सिमेन्ट र अन्य स्वदेशी कच्चा पदार्थको प्रयोग गरी कम्पनीले अन्तर्राष्ट्रियस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्नेछ ।
विगतको ५/६ वर्षदेखिको लामो अनुसन्धान तथा अथक मेहनतबाट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चलनमा आएको एभरेष्ट फाइबर सिमेन्ट बोर्डका प्रबन्ध निर्देशक प्रदीप पण्डित बताउँछन् । आफ्नै देशको कच्चा पदार्थहरू प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरका फाइबर सिमेन्ट बोर्डका उत्पादनहरू बजारमा ल्याउने उनको भनाइ छ ।
‘विगतमा भारत, चीन, थाइल्याण्ड तथा अन्य अन्तर्राष्ट्रिय बजारबाट फाइबर सिमेन्ट बोर्ड ल्याउँदा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको कारण विदेशी मुद्रा अभावको गम्भीर असर पुगेको थियो । त्यसैले आफ्नै देशको उत्पादन खरिद गरी प्रयोग गर्न सकिने र विभिन्न डिजाइनका आन्तरिक तथा बाह्य सजावटमा प्रयोग गर्न मिल्ने वाटरप्रुफ गुणस्तरीय बोर्ड उद्योगबाट उत्पादन हुनेछन्,’ उनले भने, ‘ग्राहकको माग भएमा सुरक्षा निकायले प्रयोग गर्न सक्ने किसिमका एस्क्लोजर तथा बुलेटप्रूफ बोर्ड समेत उत्पादन गर्न सकिने प्रविधि तथा मेसिन हामीसँग छन् ।’
भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिमा समेत सजिलो र सुलभ मूल्यमा गुणस्तरीय प्रिफ्याप हाउसमा समेत प्रयोग गर्न सकिने उत्पादनलाई जोड दिएको पण्डितको भनाइ छ । मागअनुसार पर्याप्त विद्युत आपूर्ति हुने, कर तथा आयातमा लाग्ने भन्सार, महसुल तथा मूल्याङ्कनमा कडाइ र नेपाली उत्पादन उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति भएमा यस उद्योगबाट उत्पादित प्रडक्ट विदेश निर्यात गर्ने र ब्यालेन्स अफ पेमेन्टको समस्यालाई समाधान गर्न भूमिका निर्वाह गर्ने उनले बताए ।
निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्मा २०७२ सालको भूकम्पपछि यस्ता प्रडक्टको महत्व बढेको बताउँछन् । विपदको समय र स्थायी घर बनाउन, प्रिफ्याप घर बनाउन सिमेन्ट बोर्डको महत्त्व रहेको उनको भनाइ छ । सबै किसिमका कलर उपलब्ध हुन सक्यो भने निर्माण क्षेत्रमा फड्को मार्ने उनले बताए ।
नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्याक्ष वीरेन्द्र पाण्डेय नेपालको लागि फाइबर सिमेन्ट बोर्डका प्रडक्ट राम्रो भएको बताउँछन् । विश्वव्यापी रूपमा निर्माण उद्योगमा नयाँ प्रविधि आउनेक्रम सुस्त भएकाले त्यसबाट नेपालपनि अछुतो नरहेको उनको भनाइ छ ।
‘नेपाल भूकम्पकीय जोखिममा रहेको हुँदा लाइटर कन्स्ट्रक्सनमा जानुपर्छ । त्यसमा इनोभेसन, नयाँ प्रविधिलाई पनि साथमा लिएर जाँदा सहज हुन्छ । फाइबर सिमेन्ट बोर्डका प्रडक्टले निर्माण क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ,’ उनले भने, ‘आन्तरिक इण्डस्ट्रीमा उत्पादन गर्न सकियो भने यसले आयात प्रतिस्थापन गर्न सक्छ । सिमेन्ट उद्योग सकसमा रहेका बेलामा यो उद्योगले सहयोगी भूमिका खेल्नेछ ।’
सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल राज्यको जीडीपीमा योगदान दिने उत्पादनमूलक उद्योगले नेपालमै उत्पादन हुँदा लागत पनि घट्ने अपेक्षा रहेको बताउँछन् । साथै आवश्यकता अनुसार विभिन्न रङ्ग, डिजाइनमा प्रडक्ट उत्पादन हुनुपर्ने उनले बताए ।
‘हाम्रो माटो पानी अनि घाम दुवै सुहाउँदो प्रडक्ट आएको छ । यसको बजार पनि ठूलो देखिन्छ । सामान्यतया घर बनाउँदा, पूर्वाधारण निर्माणमा जति खर्च भइरहेको छ, यो प्रडक्टले ५० प्रतिशत लागत घट्ने देखिन्छ,’ उनले भने, ‘सहरी विकास मन्त्रलायले वैकल्पिक कन्स्ट्रक्सन मेट्रियलका लागि अनुसन्धान गरिरहेको छ । यस्ता प्रडक्टका फ्याक्ट्रीलाई प्रमोसन गर्न जरुरी छ । गुणस्तरीयतामा कम्पनीले ध्यान दिनुपर्छ । यो प्रडक्ट विदेशबाट आयात हुने भएकाले आगामी दिनमा आयात शून्य हुने विश्वास छ ।’
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालमै फाइबर सिमेन्ट बोर्ड उत्पादन हुँदा विदेशी मुद्रा बाहिरिन रोकिने बताउँछन् । पूर्ण रूपमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी निर्माण हुने फाइबर सिमेन्टको कच्चा पदार्थ मिसावटदेखि बोर्ड निर्माण कटिङ र ड्राइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रुपमा अटोमेटेड प्रविधिमा आधारित रहेको उनको भनाइ छ ।
‘हामीले उत्पादन निर्यातका लागि गुणस्तरीय भएकाले आयात गरेको वस्तुभन्दा हाम्रो प्रडक्सन अझै राम्रो छ । आन्तरिक खपतका लागि प्रयोग गर्छाैं नै, सँगसँगै हामी यसलाई निर्यात पनि गर्छाैं । आन्तरिक कच्चा पदार्थ प्रयोग गरेर तराईतिर रोजगारी दिने उद्देश्यले नेपालको पहिलो फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा ल्याइएको हो । यसले समग्र आयातलाई निरुत्साहित गर्नेछ । र, रोजगारी पनि प्रदान गर्नेछ । राज्यलाई रेभिन्यूमा पनि योगदान गर्नेछ,’ उनले भने ।
यस उद्योगले दैनिक रूपमा ३५ सयभन्दा बढी बोर्ड उत्पादन गर्ने क्षमता राख्छ । उद्योगले ८ फिट लम्बाइ, ४ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएमसम्म मोटाइका बोर्ड उत्पादन गर्नेछ । यहाँ उत्पादन भएका बोर्डहरू लचकदार, अग्निप्रतिरोधक र घामपानीले कुनै असर नगर्ने किसिमका हुनेछन् । वाटरप्रुफ फाइबर सिमेन्ट बोर्ड विशेष गरी भवनको बाहिरि होल, पार्टेसन, पल्स सिमेन्ट, मनिटर किचेन, इको प्यानल बनाउन सकिन्छ ।
प्रिफायर स्ट्रक्चर बिल्डिङ र घरको इम्पेरियर र स्टेरियर डेकुरेसन जस्तो स्ट्रक्चर आइसकेपछि यसलाई वालको रूपमा पनि प्रयोग गर्न सकिन्छ र यसलाई स्टिलको स्ट्रक्चरमा यसले ठूलो वाल सिलिङको रूपमा समेत प्रयोग गर्न सकिन्छ । डेकुरेरियट बोर्ड पनि उत्पादन हुने भएकाले दीर्घकालरुपमा घरमा समेत प्रयोग गर्न सकिन्छ।
आईएमई ग्रुपको लगानीमा सञ्चालित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनले नयाँ नेपाल निर्माणको अभियानमा आफूलाई उभ्याएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताउँछन् । उद्योगबाट उत्पादित वस्तुले आयात प्रतिस्थापन गर्दै निर्यात प्रबर्द्धन गर्ने विश्वास लिएको उनको भनाइ छ ।
‘हाम्रो मुलुकको भूबनावटका कारण विभिन्न समयमा बाढी, पहिरो, भूकम्प, आगजनी जस्ता थुप्रै क्षतिहरू सामना गर्याैं । र, त्यसको द्रूत निर्माण तथा पुननिर्माणमा लागि हामीले नयाँ प्रविधिमा सुरक्षित, भरपर्दाे सामग्रीका लागि फाइबर सिमेन्ट बोर्ड उत्पादनले सहज बनाउनेछ,’ उनले भने ।