विपद्पछि उद्धारका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तैनाथ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

विपद् जोखिम न्यूनिकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताए । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले सुरक्षा निकायहरुलाई विपद् न्यूनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको जानकारी दिए ।

जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेको र विपद् भएको खण्डमा जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको जानकारी दिए । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरू बनाइ प्रदेश सरकारलाई जिम्मा लगाइएको बताए । 

गृहमन्त्री लेखकले भने, ‘देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तयारी रहनका लागि निर्देशन गरिएको छ । सुरक्षाकर्मीहरुः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग आफ्नो ठाउँमा विपद् जोखिमको विषयमा तयारी अवस्थामा बसेका छन् ।’

गृहमन्त्री लेखकले काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर विपद् सुरक्षार्थ खटाइएको बताए । सरकारसँग सिमित श्रोत र साधन रहेको बताउँदै ठूलो विपद्को व्यवस्थापन गर्न सरकारले मात्रै गर्छ भनेर बस्न नहुने बताए । 
 

Share News