सडक विभागले ३ महिना रोक्यो भूमिगत विद्युतीकरणको काम

काठमाडौं । भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो । 

उनले भने, ‘अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्ने लगायतका रोकिएको छ ।’ 

अहिले पाइप गाडि सकिएका ठाउँमा केवल जोड्ने, पोल गाड्ने लगायतका काम भइरहेको उनको भनाइ छ । सडक विभागले वर्षान्तमा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो । उनका अनुसार सडक छेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भासिने जस्ता समस्या हुने भएकाले काम रोकिएको हो । 

आयोजनाले हालसम्म भरतपुरमा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको उनले बताए । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । 

बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छ भने अर्कोतर्फ भूमिगत गर्ने काम बाँकी  छ । 

उनले भने, ‘फाउन्डेसन राख्ने काम सकिएको छ । केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ ।’

३३ केभी जडानको काम सकिएको छ भने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ । 

खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षापछि कामलाई तीव्र बनाइने उनले बताए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न १ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ । सुरुआती समयमा १ अर्ब ३० करोड रुपैयाँ बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । 
 
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको आयोजना प्रमुख सुवेदीले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः ८ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनको भनाइ छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

Share News