इन्भेष्टमेन्ट कम्पनीको आईपीओमा कडाइ, २ वर्ष नाफा र अंकित मूल्य भन्दा बढी नेटवर्थ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी (इन्भेष्टमेन्ट) कम्पनीलाई आईपीओ निष्काशन कडाइ गरेको छ । धितोपत्र बोर्डको बैठकले लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गर्ने सन्दर्भमा परिमार्जन गर्दै थप कडाइ गरेको हो । 

बोर्डका अनुसार संगठित संस्था तथा लगानी कम्पनी कम्तिमा विगत तीन वर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक बर्षमा मुनाफा गरेको हुनुपर्ने, कम्पनीको प्रतिसेयर नेटवर्थ अंकित मूल्य भन्दा बढी भएको हुनुपर्नेछ । 

यस्तै, लगानी कम्पनीले उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो बजार मार्फत धितोपत्र खरिद गर्न नसक्ने बोर्डले जनाएको छ । तर, योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत कार्य गर्न बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा बुक बिल्डिङ विधिमार्फत् हुने प्रारम्भिक सार्वजनिक निष्काशनमा मात्र योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्नेछन् । 

लगानी कम्पनी उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको संगठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने, न्यूनतमभन्दा कम्तिमा एक स्तर माथिको क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्ने बोर्डले जनाएको छ ।

लगानी कम्पनीको चुक्ता पुँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने र बैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले बैदेशिक लगानी तथा प्रविधी हस्तान्तरण सम्बन्धी ऐनको प्रकृया पुरा गरेको हुनुपर्नेछ ।

Share News