नेपालकै पहिलो ओभरपास उद्घाटन, प्रधानमन्त्री ओलीद्वारा विकासको गति दोब्बर बनाउने घोषणा

काठमाडौं। काठमाडौं उपत्यकाको व्यस्त चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माण भएको नेपालकै पहिलो ओभरपास शुक्रबार उद्घाटन गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीसँग संयुक्त रूपमा ओभरपासको उद्घाटन गरे।

सवारी चाप व्यवस्थापन गर्न चक्रपथ विस्तार परियोजना अन्तर्गत निर्माण गरिएको यो ओभरपास कोटेश्वर-कलङ्की सडक खण्डमा जाम हुने तीन मुख्य स्थानमध्ये ग्वार्को चोकमा निर्माण गरिएको पहिलो संरचना हो। जसको लम्बाइ ४ सय ५५ मिटर रहेको छ भने उचाइ (ग्राउन्ड क्लियरेन्स) ६ मिटर, र्याम्प लम्बाइ दायाँतर्फ १८० मिटर, बायाँतर्फ ११० मिटर, स्पान ३५ मिटर, लेन ४ लेन तथा कुल अप्रोच सडक लम्बाइ ५०० मिटर रहेको छ भने, यसको निर्माण लागत १७ करोड ६ लाख ८८ हजार रुपैयाँ रहेको छ । 

निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले २०७८ सालमा सुरु गरिएको ओभरपासको निर्माण पटक–पटक म्याद थप गर्दा पनि तोकिएको समयमा पूरा हुन सकेन। अन्ततः २०८१ पुस १० गतेदेखि निर्माण कम्पनीलाई दैनिक जरिवाना तिराएर काम सम्पन्न गराइएको हो।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले ओभरपास निर्माणले ग्वार्को चोकको ट्राफिक जामको दीर्घकालीन समाधान गर्ने विश्वास व्यक्त गरे। उनले देशका विभिन्न क्षेत्रमा भइरहेका पूर्वाधार परियोजनाहरूको प्रगति उल्लेख गर्दै नेपालको विकासले गति लिएको दाबी गरे।

‘दैलेखमा मिथेन ग्यास भेटिएको छ, फलामको उत्खनन सुरु हुँदैछ, कृषिमा आधुनिकीकरण र नयाँ उद्योग स्थापनाको तयारी भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देशको आर्थिक आत्मनिर्भरताको दिशामा महत्वपूर्ण कदमहरू चालिएका छन्।’

साथै, उनले निराश नहुने र सम्भावनाका आधारमा अघि बढ्ने मनोबल राख्न सबैमा आग्रह गरे। हुलाकी राजमार्ग, सुनकोसी मरिन डाइभर्सन, मदन भण्डारी राजमार्गलगायतका परियोजनाले देशको भौगोलिक र आर्थिक संरचनामा रूपान्तरण ल्याउने प्रधानमन्त्रीको भनाइ थियो। ओभरपास उद्घाटनसँगै सवारीसाधनको नियमित सञ्चालन सुरु गरिएको छ। 

उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपास सञ्चालनले उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सहजता आउने विश्वास व्यक्त गरे। 

Share News