यी हुन् ११ महिनामा सबैभन्दा बढी निर्यात भएका १० वस्तु, करिब आधा हिस्सा भटमासको तेलको

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनाको अवधिमा सो रकम बराबरको वस्तु निर्यात भएको हो । 

यो अवधिमा ४४ करोड २६ लाख ५१ हजार बढी केजीको ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको सोयविन तेल  निर्यात भएको छ । जुन नेपालबाट सबैभन्दा बढी निर्यात भएको वस्तु हो । यो अवधिमा ५ करोड १० लाख लिटर बढीको ११ अर्ब ३३ करोड रकमको सनफ्लावर तेल निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालबाट बढी निर्यात हुने वस्तुको तेस्रो नम्बरमा कार्पेट रहेको छ । यो ११ महिनाको अवधिमा नेपालबाट ४ लाख २७ हजार स्क्वायर मिटरको ९ अर्ब ७८ करोड १० लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको हो । 

यस्तै, बढी निर्यात हुने वस्तुको चौथो नम्बरमा अलैंची रहेको छ । यो अवधिमा  ३९ लाख  ९५ हजार बढी केजीको ७ अर्ब १९ करोड रकम बराबरको अलैंची निर्यात भएको हो । 

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ करोड ५३ लाख केजी बढीको ५ अर्ब १३ करोड मूल्य बराबरको रकमको रोल्ड आइरन तथा स्टील निर्यात भएको छ भने १० करोड ६७ लाख बढी स्क्वायर मिटरकोे ५ अर्ब १० करोड ३२ लाख रुपैयाँको उन निर्यात भएको छ । 

यस्तै, यो अवधिमा बढी निर्यात हुने १० वस्तुभित्र जुस पनि रहेको छ । यो अवधिमा कुल ५ करोड ४५ लाख बढी लिटरको ४ अर्ब ९४ करोड ३३ लाख रकमको मिक्स जुस निर्यात भएको छ । 

११ महिनासम्ममा १ करोड ८८ लाख बढी केजीको ५ अर्ब ७० करोड रुपैयाँबराबरको धागो निर्यात भएको छ भने ११ लाख ५३ हजार केजी बराबरको ४ अर्ब २९ करोड रुपैयाँको पातलो कार्पेट निर्यात भएको भन्सार विभागले जनाएको छ ।

Share News