काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत घुस प्रकरणमा दोषी ठहर भएका छन । व्यवसायी राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लागेका बस्नेतलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
शुक्रबार मुख्य न्यायाधीश टेक बहादुर कुँवर र न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले घुस आरोपमा उनलाई दोषी ठहर गरेको हो ।
निलम्बित प्रमुख बस्नेतलाई सो घुस बाहेक १३ करोड १२ लाख रुपैयाँ बराबरको सम्पति शुद्धीकरणमा समेत दोषी ठहर गरेको छ । उक्त मुद्दामा बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने सफाइ दिइएको छ ।
विशेष अदालतबाट अभियोग प्रमाणित भएपनि बस्नेतको कैद सजाय बारे असार १६ को इजलासबाट तय हुने जानकारी दिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष पुस १४ गते ९ करोड २२ लाख घुस लिएको दाबी गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।