विद्युत ट्रिपिङप्रति प्राधिकरणलाई सम्वदेनशील हुन उद्योग संगठन मोरङको आग्रह

काठमाडौं । उद्योग संगठन मोरङले नेपाल विद्युत प्राधिकरणलाई विद्युत ट्रिपिङप्रति संवेदनशील हुन आग्रह गरेको छ ।

संगठनका अनुसार सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी हाल दैनिक कयौंपटक भइरहेको ट्रिपिङका कारण प्रताडित भएका छन् ।  

वर्षायाम सुरु भएसँगै विद्युत उत्पादन वृद्धि भई निरन्तर आपूर्ति हुने आश्वासन नेपाल विद्युत प्राधिकरणबाट पाएपनि उनीहरू ट्रिपिङका कारण पीडित भएका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले दैनिक निरन्तर भइरहने ट्रिपिङले उद्योगको मिल मेशिनेरीमा समस्या आएको, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको, श्रमिकको काम नभई त्यसै राख्नु परेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको जानकारी दिए ।

उद्योगी व्यवसायीको गुनासो सम्बन्धित निकायलाई बारम्बार सुनाउँदा समेत समस्या समाधानमा ठोस पहल नभएकोमा उनले चिन्ता व्यक्त गरे ।  

नेपालमा उत्पादन हुने विद्युत भारत तथा बंगलादेश निर्यात गरिरहँदा स्वदेशी उद्योग व्यवसाय ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत कटौतीको मार खेप्न बाध्य रहेको उनले बताए ।

उनले सुख्खायामा विद्युतको अभाव र वर्षायाममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परिरहेको भन्दै विद्युत आपूर्तिमा देखिने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न विद्युत प्राधिकरणलाई संवेदनशील हुन आग्रह गरे ।     

Share News