काठमाडौं । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाइस फुड सञ्चालनमा आएको छ।
गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् ।
काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फर्स्ट च्वाइस फुडको उत्पादन सार्वजनिक गरे ।
आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताए ।
अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको उनले जानकारी दिए । ५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ ।
१० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले जानकारी दिए । उनका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ ।
प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् । अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको पौडेलले बताए ।
अहिले उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी दिए ।
उद्योगका अहिले काठमाडौं, धरान, काठमाडौं, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर छन् भने देशभर ४ सय वटा रेष्टुरेण्ट पनि छन् ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने जिकिर गरे ।
पौडेलले पाँच बिघा जग्गा खरिद गरेर उद्योग सञ्चालन गरेको जानकारी दिएका छन् । उनका अनुसार उद्योग सञ्चालनका लागि मेसिनमा मात्र ४४ करोड रूपैयाँ लगानी भएको छ ।
पौडेल २०५८ सालदेखि बुटवलमा क्वालिटी मिट प्रोसेसिङ इन्डस्ट्रिजमार्फत मासुको तयारी परिकार उत्पादन गरी निर्यात गर्ने व्यवयास सञ्चालन गर्दै आएका छन् ।