गभनर्र पौडेल र उद्योगीबीच अर्थतन्त्रका विषयमा छलफल, आर्थिक गतिविधि बढ्ने नीति ल्याउन सुझाव

काठमाडौं । गभनर्र प्रा.डा. विश्वनाथ पौडेल र उद्योगीबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ । आइतबार नेपाल उद्योग परिसंघ र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलबीच अर्थतन्त्रका विषयमा छलफल भएको हो । 

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त गभर्नर पौडेललाई बधाईसहित मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको हो । 

सो अवसरमा अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या समाधानमा राष्ट्र बैंकले महत्वपूर्ण नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गरे । उनले समग्र मागमा आएको संकुचनका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै कसरी अर्थतन्त्रलाई चलायमान बनाउने, बैंकका रहेको लगानी योग्य रकमको परिचालन कसरी बढाउन सकिन्छ लगायतका विषयमा सुझाव दिए ।

सो अवसरमा नवनियुक्त गभर्नर पौडेलले परिसंघका नीतिगत सुझावहरुको सरहाना गर्दै बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेको बताए । बधाई तथा छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरु हेम राज ढकाल, अमित मोर, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।
 

Share News