काठमाडौं । देशभर अघोषित लोडसेडिङको गुनासो चुलिँदै गर्दा नेपाल विद्युत प्राधिकरण भने विदेशी बजारमा बिजुली बेच्नमा केन्द्रित भएको छ ।
भारतलाई दैनिक सयौं मेगावाट बिजुली बेचिरहेको प्राधिकरणले आगामी असार १ गतेदेखि बंगलादेशलाई पनि ४० मेगावाट विद्युत बेच्ने तयारी पूरा भएको छ ।
विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार शनिबारदेखि रातको समयमा भारततर्फ दैनिक १५०-२०० मेगावाट विद्युत् पठाइएको छ । यही मार्ग हुँदै बंगलादेशलाई पनि आपूर्ति गरिने उनले जानकारी दिए । भारतको बहरमपुर–भेरामारा ५० मेगावाट क्षमताको प्रसारण लाइनमार्फत बंगलादेशतर्फ विद्युत निर्यात हुने जनाइएको छ ।
नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ६ महिनासम्म प्रतिदिन ४० मेगावाट विद्युत् निर्यात गर्नेछ । यो कारोबारको दर प्रतियुनिट ६.४ अमेरिकी सेन्ट, अर्थात् झण्डै ८ रुपैयाँ ८० पैसा तोकिएको छ ।
भारतले विद्युत् आयातको स्वीकृति प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रणालीले गर्दा नेपालभित्र उत्पादित बिजुली अनुमति अभावमा खेर जाने अवस्था बारम्बार देखिएको छ । चालू वर्षमा भारतले दिएको निर्यात स्वीकृति ९४० मेगावाट मात्र हो, जबकि नेपालसँग १ हजार ५०० मेगावाटसम्म प्रवाह गर्न सक्ने पूर्वाधार छ ।
थप ३५० मेगावाटको स्वीकृति माग गरिए पनि प्रक्रिया भारतको विदेश मन्त्रालयको अनुमति र नेपालकै राजनीतिक अन्योलताका कारण अघि नबढेको प्राधिकरणले जनाएको छ ।
नेपालमा विद्युत् उत्पादन क्षमता बढिरहेको भए पनि आन्तरिक खपत नबढ्नु, प्रसारण लाइन अभाव र पूर्वाधारको असमान वितरणले विद्युत् खेर जाने समस्या उत्तिकै छ । प्रवक्ता ढकालका अनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले खरिदका लागि आवश्यक कागजात बुझाइसकेको छ र भारतको नेशनल लोड डिस्प्याच सेन्टरसँग प्राविधिक समन्वय सकिएको छ । उनले अब बिना अवरोध असार १ गतेबाट आपूर्ति सुरु हुने जानकारी दिए ।
देशभर उपभोक्ताको बिजुलीको पहुँच असमान छ । कतै घण्टौं लोडसेडिङ, कतै भोल्टेज समस्या । तर नेपाल विद्युत् प्राधिकरण भने ती समस्याको समाधानभन्दा विदेशी निर्यातमै व्यस्त छ ।