काठमाडौं । प्रकृतिप्रेमी पर्यटकलाई लक्ष्य गरी कास्कीको पोखरा महानगरपालिका-३१ पचभैयामा हिमालयन फरेष्ट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ११ करोड रुपैयाँ लगानीमा बनेको उक्त रिसोर्टमा ११ जनाले रोजगारी पाएका सञ्चालक प्रमोद भण्डारीले बताए ।
पोखराको दोस्रो ठूलो ताल बेगनास र रुपाताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा युक्त रिसोर्ट सञ्चालन गरेको उनको भनाइ छ । रिसोर्टमा विभिन्न श्रेणीका २१ वटा कोठा छन् ।
‘न्यूनतम् २ हजार रुपैयाँदेखि बढीमा ५ हजार ५०० रुपैयाँसम्मका कोठा हामीकहाँ छन्, खानामा पनि स्वदेशी र विदेशी दुवै परिकार उपलब्ध छ,’ सञ्चालक भण्डारीले भने । रिसोर्टमा एक दिनमा ६० जनासम्म पाहुना राख्ने क्षमता छ ।
ताल, हिमाल, वन जङ्गललगायत प्राकृतिक सम्पदाको दृश्यावलोकनका लागि पर्यटक पचभैया पुग्ने गर्छन् । चरा अवलोकनका लागि पनि उक्त क्षेत्र उपयुक्त मानिन्छ ।
‘पोखराको व्यस्त दैनिकी र कोलाहल छलेर शान्त रात बिताउन पर्यटक बेगनास क्षेत्रमा आउने गरेका छन् । प्राकृतिक वातावरण आतिथ्य सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको हो,’ उनले भने ।
रिसोर्टको औपचारिक उद्घाटन नभए पनि दुई महिनादेखि सेवा दिन सुरु गरेको उनको भनाइ छ । पोखराको बैदाममा विगत १८ वर्षदेखि अन्य व्यवसाय गर्दै आएका भण्डारीले रिसोर्टमा पहिलोपटक लगानी गरेका हुन् । शिक्षण पेसामा रहँदा पचभैया मन परेपछि जग्गा किनेको र अहिले सोही ठाउँमा रिसोर्ट खोलेका हुन् ।
उक्त क्षेत्रमा महँगादेखि सामान्यस्तरका होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । लेखनाथ होटल तथा रेष्टुराँ एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले त्यस क्षेत्रमा १३७ होटल तथा रेष्टुराँ व्यवस्था सञ्चालन रहेको जानकारी दिए ।
ठूलो लगानीका रुपाकोट रिसोर्ट, बेगनास रिसोर्टलगायतका रिसोर्ट तथा होटलले स्वदेशी र विदेशी पर्यटकलाई आतिथ्य सेवा दिँदै आएका छन् । प्राकृतिक सुन्दरता, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनास क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
७ तालको बाटिका भनेर चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्छ । बेगनास नजिकै उस्तै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमि र तालचोकदेखि साढे ३ किमी यात्रापछि बेगनास पुग्न सकिन्छ । बेगनास क्षेत्रमा स्तरीय सडक पूर्वाधार र बसपार्कको भने समस्या छ । तालचोक–बेगनास सडक विस्तार सुस्त गतिमा हुँदा पर्यटन क्षेत्र मारमा परेको पर्यटन व्यवसायीहरूको गुनासो छ ।