काठमाडौं । नेपाल बैंकले भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडलाई लिलामीमा राखेको छ । बैंकको काठमाडौं बैंकिङ अफिसबाट कर्जा लिएको भोटेकोशी हेली रिसोर्टले साँवा, ब्याज नियमित नगरेपछि लिलामी प्रक्रिया अघि बढाएको हो ।
कर्जा चुक्ता गर्न पटक-पटक ताकेता गरेपनि बेवास्ता गरेपछि बैंकले ३५ दिन भित्रमा कर्जा तथा सुविधा बापतको रकम भुक्तान गर्न ताकेता गरेको हो । उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा कम्पनी, साझेदार तथा सञ्चालक र सेयरधनीहरुलाई समेत कालोसूचीमा नाम समावेश गर्न आजैबाट प्रारम्भ भएको बैंकले जनाएको छ ।
साथै कम्पनीले ३५ दिनभित्र कर्जा तथा सुविधा बापतको रकम भुक्तान नगरेमा सो पश्चात् व्यक्तिगत तथा संस्थागत जमानीकर्तालाई ९० दिनभित्र जमानत बापतको रकम भुक्तान गर्न पनि बैंकले ताकेता गरेको छ ।
साथै कानूनले बैंकलाई दिएको अधिकार प्रयोग गरी ऋणीको घरघराना तथा अन्य जायजेथा खोजी असुल गर्ने, सम्बन्धित सबैलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्न लेखी पठाउने तथा अन्य कानूनी प्रक्रिया अपनाई सम्पूर्ण लेना असुल गर्नेतर्फ आवश्यक कारबाही अगाडि बढाइने बैंकले चेतावनी दिएको छ ।
बैंकका अनुसार भोटेकोशी हेली रिसोर्ट एण्ड स्पाका अध्यक्ष चिन बहादुर रानाभाट हुन् भने छिरिङ शेर्पा, सुबास प्रधान र समिर कुमार नेपाल सञ्चालक रहेका छन् ।
कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी नदी छेउस्थित भोटेकोशी हेली रिसोर्ट एजिएस हस्पिटालिटीको व्यवस्थापनमा विसं २०७८ बाट सञ्चालनमा आएको हो । करिब ९५ रोपनी जग्गामा सञ्चालित रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दुरीमा रहेको छ ।
सुन्दर प्राकृतिक वातावरण रहेको भोटेकोशी हेली रिसोर्टमा काठमाडौंबाट २० मिनेटको हेलिकप्टर उडान, तीन घण्टाको सडक सवारीबाट पुग्न सकिन्छ भने चीनको खासास्थित मितेरी पुलबाट करिब ४५ मिनटको सडक सवारीबाट पुग्न सकिन्छ । रिसोर्टमा जान तथा फर्कनका कम्पनीले विभिन्न हेली कम्पनीसँग सम्झौता समेत गरेको छ ।
रिसोर्ट एण्ड स्पाको स्तरोन्नतिका साथै रणनीतिक योजना कार्यान्वयन र ‘फोर स्टार’सम्म विस्तार गर्न रिसोर्टले गत वर्ष २०८१ जेठमा नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सम्झौता गरेको थियो ।