यी ६ जनाले दिए सहकारी प्राधिकरणको अध्यक्षका लागि आवेदन, पूर्वसचिव पोखरेलको सम्भावना बढी

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ । प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको दरखास्त आह्वान गरेअनुसार अध्यक्षका लागि ६ जनाको आवेदन परेको हो । 

प्राधिकरणको अध्यक्षका लागि पूर्वसचिव तथा प्राधिकरणको अध्यक्षका रुपमा पनि काम गरिसकेका अर्जुन प्रसाद पोखरेल, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल, राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपाल, बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफुस्कुन)का निवर्तमान अध्यक्ष परितोष पौड्याल, तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगेन्द्र शर्मा र बोर्डकै पूर्वकर्मचारी अनिल पौडेलको आवेदन परेको छ । 

पोखरेल सचिवबाट गत वैशाख २ गतेमात्रै अवकाश भएका हुन् । त्यतिबेला उनी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा कार्यरत भएकोले प्राधिकरणको अध्यक्षका रूपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए । धेरैले उनलाई अबको सम्भावित अध्यक्षको रूपमा पनि हेरेका छन् । 

यस्तै, लामो समय राष्ट्र बैंकमा काम गरेका नारायण पौडेलले पनि राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् । उनले राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी पनि पाएका थिए । राष्ट्र बैंककै निर्देशक डा. नेपाल पनि एक विज्ञ तथा अध्येताका रूपमा परिचित छन् । उनले मनि लाउण्डरिङमा विद्यावारिधि गरेका हुन् । 

यस्तै, आवेदक परितोष पौडेलले पनि लामो समय नेफ्स्कुनमा रहेर काम गरेकोले पनि बचत तथा ऋण सहकारी संस्थाको हरेक विषयवस्तुसँग नजिकबाट जानकार छन् । डा. शर्माले पनि तत्कालीन सहकारी विकास बोर्डको सदस्य सचिवका रूपमा काम गरिसकेको अनुभव छ भने बाेर्डका पूर्व कर्मचारी पौडेलसँग पनि सहकारी क्षेत्रको राम्रो ज्ञान र अनुभव भएको बुझिएको छ । 

सिफारिस समितिले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि यही जेठ ११ गते दरखास्त आव्हान गरेको थियो । जेठ २५ गतेसम्म आवेदन दिन सकिने प्रावधान सिफारिस समितिले राखेको थियो । 

अध्यक्षसँगै विज्ञ सदस्यमा पाँच जनाको आवेदन परेको छ । बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न बनेको प्राधिकरणको सञ्चालक समितिले अहिलेसम्म पूर्णता पाउन नसकेको हो । गत माघमा प्राधिकरणको स्थापना भएको थियो ।

अहिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा काम गरिरहेका छन् । हाल प्राधिकरणको सदस्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र मन्त्रालयको सहकारी क्षेत्र हेर्ने सहसचिव मदन कोइराला छन् ।

अब समितिले मन्त्रिपरिषद् समक्ष सर्टलिष्ट गरेर नाम पठाएपछि मन्त्रिपरिषदले एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ ।

Share News