काठमाडौं । सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किएको बताएका छन् ।
डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डीन) को ४५ औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण’ विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विभिन्न विधेयकहरूलाई कानुनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको बताए ।
उनले संसद चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको जिकिर गरे ।
सभामुख घिमिरेले संसदमा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘थुप्रै विधेयकहरूलाई कानुनको रूप दिनको लागि हामी तल्लीन छौं, त्यो गर्न सकिन्छ र गर्छौं पनि । तर, संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको छ । संसद नै चल्न नसकेको अवस्थामा सङ्घीय निजामती सेवासम्बन्धी ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन अड्किएर बसेको छ, थुप्रै कुराहरू अड्किएका छन् । यी अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्छ ।’
उनले कार्बन उत्सर्जन गर्ने कामहरूलाई नियन्त्रण गर्न तत्कालै नलागे भविष्यको मात्रै नभएर आजकै जीवन गम्भीर बन्ने उल्लेख गरे ।