काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सीप विकास कार्यक्रम सम्पन्न गरेको छ । गत जेठ १५ गते धुलिखेलमा र जेठ १७ गते चितवनमा कार्यक्रम सम्पन्न गरिएको हो ।
तालिम प्रदान गर्न छिमेकी मुलुक भारतका अनुभवी प्रशिक्षक विजयकुमार झालाई आमन्त्रित गरिएको थियो । उनी मोटिभेसनल स्पिकर र सेल्स ट्रेनरको रूपमा भारतदेखि विश्वको विभिन्न देशहरूमा प्रख्यात छन् ।
सीप विकास अभिवृद्धि कार्यक्रममा झाले जीवन बीमा कम्पनीको सन्दर्भमा केन्द्रित रही अत्यन्त प्रभावकारी प्रशिक्षण प्रदान गरे ।
उनले जीवन बीमाको मूल उद्देश्य, ग्राहकको मनोविज्ञान, ग्राहकसँग सम्बन्ध निर्माण, आपत्ति समाधान गर्ने तरिका, तथा दीर्घकालीन सम्बन्ध विस्तारका व्यावहारिक उपायहरूबारे स्पष्ट र प्रयोगमा ल्याउन मिल्ने सुझावहरू दिए ।
यो प्रशिक्षणले सहभागीहरूलाई आफ्ना बिक्री सीप सुधार गर्न, ग्राहकसँग अझ आत्मविश्वासका साथ प्रस्तुत हुन र कम्पनीको व्यवसायिक लक्ष्य प्राप्तिमा योगदान पुर्याउन प्रेरित गरेको छ ।
कार्यक्रममा २ सय ४० भन्दा धेरै अभिकर्ताहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरूलगायत अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा सीईओले प्रशिक्षणको महत्त्व र अपरिहार्यता माथि प्रकाश पार्दै तालिमबाट सिकेका कुराहरुलाई व्यावहारिकतामा उतार्नुपर्ने बताए ।