काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कतिपय प्रावधानहरूप्रति आपत्ति जनाउँदै कर्मचारीहरुले सिंहदरबार केन्द्रित धर्ना जारी राखेका छन् ।
नागरिक सेवामैत्री एवं कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने भन्दै नेपाल निजामती कर्मचारी संगठनको अगुवाइमा कर्मचारीहरूले बिहीवार पाँचौं दिन पनि धर्ना कार्यक्रम जारी राखेका हुन् ।
कर्मचारीको वृत्ति विकास हुने खालको ऐन प्रस्ताव नगरिएको भन्दै कर्मचारीहरूले निरन्तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएका छन् ।
नेपाल कर्मचारी निजामति कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास शाहले जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभर आन्दोलन गर्ने चेतावनी दिए । उनले सिंहदरबारबाटै देश चलाइरहेको सरकारले सिंहदरबारभित्र राखेका आफ्ना मागहरु नसुनेको आरोप लगाए ।
शाहले भने, ‘धर्ना कार्यक्रम गर्न लागेको आज पाँच दिन भयो । भोलिसम्म धर्नामार्फत सांकेतिक आन्दोलन गर्छौं । जेठ २५ गतेदेखि आन्दोलनको स्वरूप फेरेर देशभर आन्दोलन गर्छौं । हामी सिंहदरबारभित्र आन्दोलन गरिरहँदा र यही सिंहदरबारबाट देश चलाइरहँदा सरकारले हाम्रा कुरा सुनेको छौं । हामीले सुनाउन नसकेको हो कि सुन्न नचाहेको हो । त्यसकारण हामीले अगामी आइतबारदेखि आन्दोलनका नयाँ कार्यक्रमहरू ल्याउँछौं । ऐन तत्काल जारी होस् ।’
निजामती कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारीका टे«ड युनियनहरुले आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन् ।