काठमाडौं । गत आर्थिक वर्ष २०८०/८२ मा सार्वजनिक संस्थानहरूले ४२ अर्ब ६२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अर्थ मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष ४३ वटा सार्वजनिक संस्थानको नाफा १२.८८ प्रतिशत घटेको हो । अघिल्लो वर्ष यी संस्थानले ४८ अर्ब ९२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
सरकारको लगानी रहेका ४३ वटा सार्वजनिक संस्थानहरूमध्ये २८ वटा संस्थान मात्रै नाफामा छन् भने १५ वटा संस्थान घाटामा रहेका छन् । अर्थमन्त्रालयका अनुसार औद्योगिक क्षेत्रका १० वटा संस्थानमध्ये अधिकांश संस्थान घाटामा रहेका छन् । औद्योगिक क्षेत्रका संस्थानहरूले गत वर्ष १ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् । तर, जनकपुर चुरोट कारखानाको नाफा भने धनात्मक रहेको छ । यस कारखानाले २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत वर्ष दुग्ध विकास संस्थानले २३ करोड २२ लाख रुपैयाँ, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ४ करोड ६६ लाख रुपैयाँ, हेटौडा सिमेन्ट उद्योगले ३३ करोड ४२ लाख रुपैयाँ, नेपाल औषधिले ८ करोड ९० लाख रुपैयाँ, उदयपुर सिमेन्ट उद्योगले १८ करोड २१ लाख रुपैयाँ, नेपाल ओरियण्ट म्याग्नासाइटकले ५१ करोड ७९ लाख रुपैयाँ, बुटवल धागो कारखानाले ३ करोड ३९ लाख रुपैयाँ, नेपाल मेटल कम्पनीले ६१ लाख रुपैयाँ, धौवादी फलाम कम्पनीले १० लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् ।
व्यापारिक क्षेत्रका विभिन्न ४ वटा संस्थान सञ्चालनमा रहेका छन् । यी संस्थानहरूले गत वर्ष ९ अर्ब ९० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष यी संस्थानले ११ अर्ब ८१ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
व्यापारिक क्षेत्रका कम्पनीहरूमा कृषि सामग्री कम्पनीको नाफा ७११.७३ प्रतिशत बढेर २७ करोड २१ लाख रुपैयाँ र नेपाल वन निगमको १३१.११ प्रतिशत बढेर २ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खुद नाफा ५९.४१ प्रतिशत घटेर ५ करोड २५ लाख रुपैयाँ र नेपाल आयल निगमको १८.५० प्रतिशत घटेर ९ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
सेवा क्षेत्रमा रहेका ९ वटा संस्थानले गत वर्ष २ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष २ अर्ब २२ करोड १ लाख रुपैयाँ नाफा गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष सेवा क्षेत्रको नाफा ३२.२६ प्रतिशत बढेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।
सेवा क्षेत्रका सार्वजनिक संस्थानहरूमा २ वटा संस्थान घाटामा छन् भने अन्य सबै नाफामा रहेका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापनको नाफा ७९८.५८ प्रतिशत बढेर ५४ करोड ५४ लाख रुपैयाँ, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ६.५१ प्रतिशत बढेर ४ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको १०१.५१ प्रतिशत बढेर १ लाख रुपैयाँ र नेपाल नागरिक उड्डयन प्राधिकरणको २८.३५ प्रतिशत बढेर ३ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै, नेपाल पूर्वाधार निर्माण कम्पनीको ७१.०९ प्रतिशत घटेर २४ लाख रुपैयाँ, साझा यातायात सहकारी संस्थाको ५५.७० प्रतिशत घटेर ८ करोड ६ लाख रुपैयाँ, विशाल बजार कम्पनीको १३.७३ प्रतिशत घटेर १२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
तर, नेपाल वायुसेवा निगम र नेपाल रेल्वे कम्पनी भने घाटामा सञ्चालन भइरहेका छन् । नेपाल वायुसेवा निगमको १ अर्ब ४ करोड रुपैयाँ र नेपाल रेल्वे कम्पनीले २० करोड ६ लाख रुपैयाँ घाटा बेहोरेका छन् ।
सामाजिक क्षेत्रका सार्वजनिक संस्थानहरूले गत वर्ष ४१ करोड ९ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् । अघिल्लो वर्ष १२ करोड ५ लाख रुपैयाँ नोक्सानी बेहोरेका थिए ।
जसमध्ये गोरखापत्र संस्थान र राष्ट्रिय आवास कम्पनीको नाफा धनात्मक रहेको छ भने अन्य कम्पनीको नाफा ऋणात्मक रहेको छ । गत वर्ष गोरखापत्रको नाफा ९४.१७ प्रतिशत बढेर १२ करोड १२ लाख रुपैयाँ र राष्ट्रिय आवास कम्पनीको १४९.४६ प्रतिशत बढेर ५२ लाख रुपैयाँ आर्जन गरेको छ ।
तर, सांस्कृतिक संस्थानले १ करोड ३० लाख रुपैयाँ, जनक शिक्षा सामग्री केन्द्रले २६ करोड ५९ लाख रुपैयाँ, सार्वजनिक सेवा प्रशारण नेपालले २५ करोड ८४ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् ।
जनोपयोगी क्षेत्रका विभिन्न ५ कम्पनीको गत वर्ष खुद नाफा ३.७३ प्रतिशत घटेर १६ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्ष यी कम्पनीले १७ अर्ब १० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
नेपाल विद्युत प्राधिकरणको ११.९२ प्रतिशत बढेर १० अर्ब ५२ करोड ७१ लाख रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनीको २१.३४ प्रतिशत घटेर ६ अर्ब २३ करोड १ लाख रुपैयाँ, विद्युत उत्पादन कम्पनीको ५८.९३ प्रतिशत घटेर ५ करोड ५९ लाख रुपैयाँ र राष्ट्रिय प्रशारण ग्रिड कम्पनीको ६७.९६ प्रतिशत घटेर ६ करोड ६ लाख रुपैयाँ नाफा गरेका छन् ।
तर, नेपाल खानेपानी संस्थानले भने घाटा बेहोरेको छ । यस संस्थानले गत वर्ष ४० करोड ७६ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
वित्तीय क्षेत्रका १० वटा कम्पनीको गत वर्ष खुद नाफा २१.८० प्रतिशत घटेर १५ अर्ब १६ करोड ८६ लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्ष १० वटा संस्थानले १९ अर्ब ३९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
जसमध्ये गत वर्ष कृषि विकास बैंक, राष्ट्रिय जीवन बीमा कम्पनी, निक्षेप तथा कर्जा ’कोष सुरक्षण, नेपाल स्टक एक्सचेन्ज, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र सिडिएस एण्ड क्लियरिङ्गको नाफा बढेको छ । तर, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोष र नेपाल बैंकको नाफा घटेको छ ।
कुन क्षेत्रबाट कति लाभांश ?
गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले सार्वजनिक संस्थानबाट ८ अर्ब ८३ करोड ५७ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ लाभांश प्राप्त गरेको थियो । सेयर लगानीको प्रतिफल स्वरूप सम्बन्धित सार्वजनिक संस्थानबाट लाभांश प्राप्त गर्ने गर्दछ ।
गत वर्ष ७ वटा सार्वजनिक संस्थानबाट मात्र लाभांश प्राप्त भएको मन्त्रालयले जनाएको छ । जनोपयोगी, सेवा र वित्तीय क्षेत्रबाट लाभांश प्राप्त भएको छ भने औद्योगिक, सामाजिक र व्यापारिक क्षेत्रबाट लाभांश प्राप्त भएको छैन । कुल प्राप्त लाभांश मध्ये जनोपयोगी क्षेत्रको नेपाल दूरसञ्चार कम्पनीबाट ७४.५६ प्रतिशत प्राप्त भएको छ ।
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानबाट १ अर्ब ९० करोड ५७ लाख रुपैयाँ लाभांश प्राप्त हुँदा सेवा क्षेत्रबाट ३४ करोड २२ लाख रुपैयाँ लाभांश प्राप्त भएको छ ।