काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले स्थानीय वडासम्मै मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको बताएका छन् ।
मन्त्रालय अन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुगेका मन्त्री खड्काले वडा वडासम्म मौसम पूर्वानुमान सूचनालाई सम्प्रेषण गर्ने गरी विभागले काम गरिरहेको बताए ।
‘गत वर्षभन्दा यसवर्ष धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ, मौसम पूर्वानुमान प्रणालीलाई वडा तहसम्म पुर्याउन सकिए विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्छ भन्ने हो, त्यसका लागि मन्त्रालय र विभागले काम गरिरहेको छ,’ मन्त्री खड्काले भने ।
विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने बताए । उनले गण्डकी तथा लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदर भन्दा बढी वर्षा हुने जानकारी गराए ।
महानिर्देशक जोशीले कृषकका लागि साप्ताहिक रुपमा कृषि मौसम पूर्वानुमान प्रणालीबारे जानकारी दिँदै आएको बताए । उनले यो वर्ष एक हजार ५०० मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको समेत उल्लेख गरे । उनले वर्षाबाट हुने क्षति न्यूनीकरणका लागि समयमै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गराउँदै आएको बताए ।
विभागको कार्यालयमा स्थलगत रूपमा पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएकोमा उनले खुसी व्यक्त गरे । महानिर्देशक जोशीले उपलब्ध प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने समेत बताए ।
अवलोकनका क्रममा उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, जलस्रोत तथा सिँचाई सचिव सरिता दवाडी लगायतको सहभागिता रहेको थियो ।