काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समिक्षा अनुसार सो अवधिमा शोधनान्तर ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले र शोधनान्तर ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमो थियो ।
चालु आवको ९ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भइ १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
चालु आवको ९ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि दर १५.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब ६ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा ९९ हजार ६६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् ।
चालु आवको ९ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ । चालु आवको ९ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ५.९२ प्रतिशत थियो । वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ । जुन विसं २०८० चैतमा ४.६१ प्रतिशत थियो ।
गत चैतमा खाद्यान्न समूहको मूल्य वृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा खाद्यान्न समूहको मूल्य वृद्धि ५.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.२० प्रतिशत रहेको थियो ।
वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो ।