राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झार्याे (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १ सय प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भार २५ प्रतिशत घटाएर १ सय प्रतिशतमा झारेको हो । 

यसअघि सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत रहेको थियो । २५ प्रतिशत घटाएरसँगै विद्यमान सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम रहेको छ । 

राष्ट्र बैंकको उक्त व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई सेयर कर्जामा कम जोखिम भार राख्दा पुँजी बजारमा प्रवाह हुने कर्जाको आकार बढ्ने देखिन्छ । साथै सेयर बजारका लगानीकर्ताहरूले पनि विगतदेखि जोखिम भार घटाउनुपर्ने माग गर्दै आएका थिए ।

राष्ट्र बैंकका अनुसार नीतिगत दरलाई विद्यमान ५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

यस्तै, विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय राष्ट्र बैंकले खुला बजार कारोबार उपकरणहरूमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ । 

आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगता पूर्वक सन्तुलित राखिएको राष्ट्र बैंकले जनाएको छ ।

लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गर्ने राष्ट्र बैंकको मौद्रिक समीक्षामा उल्लेख छ । 

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन बमोजिम चेक अनादरसम्बन्धी ब्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने राष्ट्र बैंकले जनाएको छ । 

 

Share News