काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले मुद्रण केन्द्रमार्फत चालक अनुमति पत्र छपाई गर्ने भएको हो । जसमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नवीकरण गरिएको समेत लामो समय सम्म सवारी चालक अनुमति पत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले विभागलाई पटक पटक निर्देशन दिएका थिए ।
तत्काल अनुमति पत्र नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमति पत्र समावेश समेत गरिएको छ ।
हाल सोही एप मार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ । दिगो समाधानका लागि समयमानै सवारी चालक अनुमति पत्र छपाई नै गर्नु पर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलब्ध गराउने विकल्प खोजी गर्न निर्देशन दिएका थिए ।
सरकारी निकायहरू बिचमा नै सहकार्य गरी सवारी चालक अनुमति पत्र छपाइको विकल्प खोजी गर्ने क्रममा केही दिनअघि दुवै मन्त्रालयका सचिव सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबीच छलफल समेत भएको थियो ।
दुई सरकारी निकाय बीचको सहकार्यले सवारी चालक छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ । दुवै पक्षबीच भएको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरी विभागलाई हस्तान्तरण गर्ने छ ।
समझदारी पत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन् ।
शुक्रबार भएको समझदारी पत्रमा २८ लाख थान लाइसेन्स असार मसान्तबाट छाप्न सुरु गरिने उल्लेख छ । यसैगरी समझदारी पत्रमा उच्च सुरक्षासहितको क्यूआर कोड लाइसेन्समा राखिनेछ ।
विदेश जाने प्रयोजनका लागि ‘चिप’ सहितको लाइसेन्स भने यातायात विभागले नै छाप्नेछ ।