काठमाडौं । महालेखा परीक्षकको कार्यालयले विशाल बजार र राष्ट्रिय बीमा कम्पनीलाई कारवाही गर्न निर्देशन दिएको छ । ती दुई कम्पनीले हालसम्म लेखापरीक्षण नगरेको र लगानीकर्तालाई कम्पनीको वित्तीय अवस्थाको बारेमा जानकारी नगराएको भन्दै महालेखाले नेप्सेलाई कारवाही गर्न निर्देशनसहितको राय दिएको हो ।
सूचीकरण नियमावली अनुसार सूचीबद्ध कम्पनीहरूले वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र तथा त्रैमासिक प्रतिवेदन ३० दिनभित्र नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा अपलोड गर्नुपर्ने व्यवस्था छ । तर, नेप्सेले उक्त नियम पालना नगर्ने कम्पनी विरुद्ध कुनै कारबाही नगरेको महालेखाले उल्लेख गरेको छ ।
यस्ता कम्पनीको कुल कारोबार यो वर्ष १ अर्ब ५८ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनीले पटक-पटक नियम उल्लङ्घन गरेतापनि नेपाल स्टक एक्सचेञ्जले कारबाही नगरेको प्रतिवेदनमा उल्लेख छ ।
विशाल बजार कम्पनीले लेखापरीक्षण भएको वित्तीय विवरण राख्नुपर्ने ठाउँमा २०८१ मंसिर १४ मा लेखापरीक्षण नभएको वित्तीय विवरण अपलोड गरेको देखिएको छ । नियमावलीको पालना नगर्ने उपर आवश्यक कारबाही गर्नुपर्ने राय महालेखाको छ ।