१३ जना अमेरिकनले आरोहण गरे सोक्ला रक क्लाइम्बिङ्ग

चरिकोट । अमेरिकन पर्यटकहरूले सोक्ला भ्यालीमा रक क्लाइम्बिङ्ग गरेका छन् । सगरमाथा यात्रामा रहेका अमेरिकन नागरिकहरूको १३ जनाले ४२० मिटरको उचाइमा रहेको सोक्ला रक क्लाइम्बिङ्ग आरोहण गरेका हुन् ।

सोक्लाश्वरी पर्यटन विकास समाजको नेतृत्वमा सञ्चालन भइरहेको रक क्लाइम्बिङ्गमा पहिलो पटक विदेशी पर्यटकले आरोहण गरेका हुन् । अमेरिकाको साउथ स्टन युनिभर्सिटी फ्लोरिडाको प्रोफेसर सहितको टिमले रक क्लाइम्बिङ्ग गरिएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।  

युनिभर्सिटीका म्याथु वर्नेट, अलेक डन्डर जोसुवा, इजी विएल ,एन्ड्रयु, इएन, इजा बेला कोलेवान, डेबले लगायतको टिमले रक क्लाइम्बिङ्ग गरेका हुन् । दोलखाको सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित विगत ५ वर्षदेखि रक क्लाइम्बिङ्गको प्रवर्द्धन गरिरहेको पर्यटन समाजका अध्यक्ष पाख्रिनको भनाई छ ।  

इलाम माईपोखरीका गाइड अमरदीप वान्तवाले अमेरिकन नागरिकहरूलाई सोक्ला भ्यालीसम्म पुर्याएका हुन् । उनीहरुलाई सोक्ला भ्यालीको ताम्बा संस्कृतिद्वारा स्वागत गरिएको थियो । साउथ स्टन युनिभर्सिटी फ्लोरिडाको प्राफेसर म्याथु वर्नेटले रक क्लाइम्बिङ्गपछि यो जीवनकै उत्कृष्ट साहसिक अनुभव भएको बताए । 

‘नेपालमा मेरो तेस्रो पटकको यात्रा हो । दोलखा पहिलो पटक । यही क्रममा सोक्ला रक क्लाइम्बिङ्ग गर्ने अवसर मिल्यो,’उनले भने,‘सगरमाथा आरोहणमा सहज हुनेछ । म अर्को वर्ष आरोहणका लागि बेसक्याम्पसम्म जाँदैछु ।’ 

उनीसँगै अर्का आरोही इजी विएलले भनिन्,‘यो यात्रा रोमाञ्चक हुने भयो । सायदै, यो मेरो जीवनको पहिलो अनुभव हो । डर थियो । तर, साहस भएकै कारण यो चट्टान चढ्न सजिलो भयो ।’ 

सोक्लाको भीर देखेर एन्ड्र यु डराएका थिए । ‘हामीले यो खालको एडभेन्चर अनुभव गरेका थिएनौं । रक क्लाइम्बिङ्गको टपमा पुगेपछि सिंगो सोक्ला भ्याली, तामाकोशी र गौरीशंकर हिमालको श्रृंखला देख्दा अचम्म लाग्यो,’ एन्ड्रले भने,‘पाखो पहाड धेरै देखे तर एकै ठाउँबाट फाँट, बस्ती, खोला, जंगल र हिमाल देख्ने ठाउँ भने देखेको थिएन ।’ 

अमेरिकाको युनिभर्सिटीमा रक क्लाइम्बिङ्गको लोगो

अमेरिकाको साउथ स्टन युनिभर्सिटी फ्लोरिडामा सोक्ला रक क्लाइम्बिङ्गको लोगोसहितको मायाको चिनो राखिने प्रोफेसर म्याथु वर्नेट बताए । खुसी हुँदै उनले भने,‘सोक्ला भ्यालीको संस्कृति, मायाको चिनो युनिभर्सिटीमा राख्ने छु ।’

अमेरिकन नागरिकसहित हिमालयन क्राउन एकेडमीका ३९ जना विद्यार्थीहरूले रक क्लाइम्बिङ्ग गरेका छन् । उनीहरुको टिमबाट कविता तामाङ प्रथम, रीतिका माया मगर दोस्रो र निमा डेभिट शेर्पा तस्रो भएको पर्यटन विकास समाजले जनाएको छ ।  उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

सोक्ला रक क्लाइम्बिङ्ग फेस २०८२ नाम दिएर आयोजना गरिएको यस कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले समेत रक क्लाइम्बिङ्ग गरेका थिए । सोक्ला भ्यालीको विकास र दोलखाकै पर्यटक आर्थिक विकासको लागि रक क्लाइम्बिङ्ग कोशेढुंगा हुने बताए । 

साथै उनले रक क्लाइम्बिङ्गमा सहभागी अमेरिकी नागरिकहरू र हिमालयन क्राउन एकेडेमीका विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरेका थियो ।  


 
 

Share News